९ मुलुकबाट नेपाल प्रवेशमा रोक, ओमिक्रोन भय – Satabdi News

९ मुलुकबाट नेपाल प्रवेशमा रोक, ओमिक्रोन भय

१७ मंसिर, काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएका अफ्रिका सहितका ९ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । मन्त्रिपरिषद्को मंसिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेहरुलाई प्रवेश अनुमति नदिने निर्णय गरिएको हो ।

ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको ३ हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई बिहीबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एसियालगायतका मुलुकमा क्रमिकरूपमा फैलिंदै गइरहेको छ ।

यसैक्रममा नेपालले पनि समयमै सावधानी अपनाई नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न यो निर्णय गरेको हो । जनजीवनलाई सामान्य राख्ने उद्देश्यले अर्को आदेश नभएसम्मका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार बमोजिम सरकारले यसअघि नै आदेश जारी गरिसकेको छ ।

सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफनै खर्चमा अनिवार्यरूपमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अरु मुलुकको हकमा ती मुलुकमा ओमिक्रोन संक्रमणका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी सोको जानकारी अध्यागमन विभागलाई उपलब्ध गराउने छ ।

अध्यागमन विभागले सोही आधारमा यात्रा सुझाव जारी गर्नेछ । संक्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ । सङ्क्रमण जोखिम भएका मुुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्यरूपमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "९ मुलुकबाट नेपाल प्रवेशमा रोक, ओमिक्रोन भय" A few seconds ago

सम्बन्धित खवर