एमाले पतन भइसक्यो, प्रतिस्पर्धा गर्नेलाई ओलीले टिक्न दिँदैनन् : अशोक राई – Satabdi News

एमाले पतन भइसक्यो, प्रतिस्पर्धा गर्नेलाई ओलीले टिक्न दिँदैनन् : अशोक राई

१३ मंसिर २०७८, सोमबार । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा एमाले स्खलित र पतन भइसकेको बताएका छन्।

एमालेको बुटवलमा भएको आठौं महाधिवेशनबाट उपाध्यक्ष चुनिएका उनी अब त्यस पार्टीबाट कुनै अपेक्षा गर्नु व्यर्थ हुने बताएका छन्।

राईले आफूले विगतमा लामो समय काम गरेको एमालेको यो महाधिवेशनबाट मुलुकले केही अपेक्षा गर्न नसक्ने बताए।

‘एमाले वैचारिक हिसावले स्खलित र राजनीतिक हिसावले पतन हुँदै गएको छ’, आइतबार पत्रकारहरुसँग बुटवलमा उनले भने ‘व्यवहारिक अवस्थामा पनि अत्यन्तै गलिसकेको छ। अब धेरै अपेक्षा गर्न सकिँदैन।’

एमाले अध्यक्ष केपी ओलीले आजीवन पद नछाड्ने गरि महाधिवेशन गरेको भन्दै राईले प्रतिस्पर्धा गर्नेका लागि त्यहाँ ठाउँ नभएको उल्लेख गरे।

‘खड्गप्रसाद ओलीजीले कुनै हालतमा ठाउँ खाली गर्नेवाला हुनुहुन्न। अरु प्रतिस्पर्धीहरुका लागि त्यहाँ ठाउँ छ जस्तो लाग्दैन,’ उनले भने, ‘कार्यकर्ता साथीहरुले पनि पहिले जस्तो विवेक प्रयोग गरेर मतदान गर्नुहोला जस्तो देख्दिनँ।’

पहिलो संविधानसभामा राज्य पुनर्संरचनासम्बन्धी बहसमा एमालेभित्र कुरा नमिलेपछि उनी बाहिरिएका संघीय समाजवादी पार्टी बनाएका थिए।

उनले गठन गरेको पार्टी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग मिलेर संघीय समाजवादी फोरम भएको थियो।

मधेसवादी दलहरु मिलेर गठन भएको जनता समाजवादी पार्टी बनेपछि उनी त्यसको अहिले वरिष्ठ नेता बनेका छन्। हाल जसपामा रहेका उनी कुनै बेला एमालेका शक्तिशाली नेता मानिन्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमाले पतन भइसक्यो, प्रतिस्पर्धा गर्नेलाई ओलीले ..." A few seconds ago

सम्बन्धित खवर