नेपालमा एक करोड ८८ लाख डोज खोप आयो – Satabdi News

नेपालमा एक करोड ८८ लाख डोज खोप आयो

४ कात्तिक, काठमाडौं । नेपालमा हालसम्म एक करोड ८८ लाख ५८ हजार सात सय १० डोज खोप आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आएका खोपमध्ये एक करोड ५० लाख ४८ हजार दुई सय ८८ डोज प्रयोग भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले डेढ करोडभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको बताए । उनीहरूमध्ये पहिलो डोज लगाउने ८५ लाख ६२ हजार तीन सय ६५ जना र दोस्रो अर्थात् पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ८५ हजार नौ सय २३ छ । ३८ लाख १० हजार चार सय २२ डोज प्रयोगमा आउन बाँकी छ । चाडपर्वले रोकिएको खोप अभियान फेरि सुरु हुने मन्त्रालयले जनाएको छ ।

चीनले थप २० लाख डोज खोप दिने
चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग चीनका विदेशमन्त्री वाङ यीले सो घोषणा गरेका हुन् । केही दिनअघि मात्र चीनले १० लाख डोज खोप दिने घोषणा गरेको थियो । नेपाललाई निरन्तर खोप अनुदानमा उपलब्ध गराएकोमा तथा सहज रूपमा खरिदको प्रबन्ध गरिदिएकोमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङलाई धन्यवाद दिएका थिए ।

संक्रमण दर ११ प्रतिशत पुग्यो
दैनिक चार प्रतिशतमा झरेको कोरोना संक्रमण दर बढेर ११ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार संक्रमण दर वृद्धि भएको देखिएको छ । केही सातायता नेपालमा संक्रमण दर पाँच प्रतिशतभन्दा मुनि थियो । दैनिक संक्रमणदर तीन प्रतिशत पुगेपछि अवस्था सामान्य मान्न सकिने चिकित्सकहरू बताउँछन् । तर, मंगलबारको वृद्धिले फेरि सरकारलाई झस्काएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल संक्रमण दर वृद्धि भएको यकिन गर्न अहिले नै हतार हुने बताउँछन् । ‘चाडपर्वले गर्दा धेरै प्रयोगशालाले कोरोनाको परीक्षण गरेका थिएनन् । होल्ड भएका नमुनाको परीक्षण एकैपटक भएकाले पनि वृद्धि भएको हुन सक्छ,’ उनले भने । पौडेलले एक दिनको नतिजालाई आधार बनाएर धारणा राख्दा हतार हुने बताए । चाडपर्वले मानिसको आवतजावत ह्वातै बढेकाले केही दिन केस बढ्न सक्ने उनको बुझाइ छ । मंगलबार नौ हजार ९१६ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ९६ जनामा कोरोना पुष्टि भएको छ । पौडेलले उपत्यकाका व्यस्त स्थानमा मास बेस परीक्षण सुरु गर्ने बताए । बढी भिड हुने स्थान, बसपार्क र नाकाहरूमा समुदायस्तरमै परीक्षण थालिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा एक करोड ८८ लाख डोज खोप आयो" A few seconds ago

सम्बन्धित खवर