हिरासतमा रहेका थुनुवाको मृत्युपछि सुनसरीमा प्रहरी कार्यालय परिसरमै झडप – Satabdi News

हिरासतमा रहेका थुनुवाको मृत्युपछि सुनसरीमा प्रहरी कार्यालय परिसरमै झडप

सुनसरी। प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ। पीडितका आफन्तसहित ठूलो संख्याको भिडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप भएको छ।

ढुंगामुढापश्चात् प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जनभन्दा बढी अश्रुग्याससमेत प्रहार गरेको छ। झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन्। प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन्। प्रदर्शनकारीले प्रहरीले सुनियोजित रूपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लास नबुझ्ने बताएका छन्।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाले सिसिटिभी क्यामेरामा स्पष्ट हात्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए। उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताए।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटकपटक प्रयास गरेको थियो। झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति पुगेको छ। कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा– ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए। पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन्। उनीहरूले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हिरासतमा रहेका थुनुवाको मृत्युपछि सुनसरीमा प्रह..." A few seconds ago

सम्बन्धित खवर