बेलबारी । साहित्यकार ईरानराईद्वारा संकलित तथा सम्पादित प्रदेश नं. १ का ३३ जना निबन्धकारहरूको व्यङ्ग्य निबन्धसंग्रह ‘मुखास्त्र’ सार्वैजनिक भएको छ ।
वरिष्ठ साहित्यकार भैरव अर्यालको ४५ औँ स्मृति दिवसको अवसर पारेर मंगलबार बेलबारीमा सार्वजनिक गरिएको हो ।
बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी तथा भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेले भैरव अर्यालको तस्बिरमा पुष्पार्पण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख सुवेदी, गुठीका अध्यक्ष घिमिरे, प्राज्ञ तथा त्रिविका प्राध्यापक वरिष्ठ व्यङ्ग्यकार नरनाथ लुइटेल, सिस्नुपानी नेपालका अध्यक्ष वरिष्ठ हास्य–व्यङ्ग्यकार लक्ष्मण गाम्नागे, स्रष्टा समाज, बेलबारीका अध्यक्ष हर्कमान तामाङ, अन्वेशक कवि अनिल पौडेल, सशक्त लेखिका मिश्र वैजयन्ती र कार्यक्रम अध्यक्ष रेखा सुवेदीले ‘मुखास्त्र’ लाई संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।
उक्त कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रको नेपाली विषयविज्ञ, कक्षा १ को कक्षागत गीतको रचयिता, कक्षा २, ३ (अङ्ग्रेजी), ४ र ७ का कार्यक्रममा ‘भत्काइदिन्छु बाख्राको खोर पनि’, ‘ए बाउ, भात खान आऊ’ र ‘तिते करेली’ जस्ता बहुचर्चित गीतका गायक डम्बर बिकेललाई सम्मान गरिएको थियो ।