‘नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण’ को विषय एमाले विधान महाधिवेशनमा उठ्यो – Satabdi News

‘नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण’ को विषय एमाले विधान महाधिवेशनमा उठ्यो

१६ असोज, डोल्पा । एमालेको विधान महाधिवेशनमा नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण रोक्दै पार्टी एकता गर्नुपर्ने विषय उठेको छ । विधान महाधिवेशन प्रतिनिधि तारा पोखरेलका अनुसार एमाले विभाजनको कारण सैद्धान्तिक, वैचारिक नभई नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण भएको विषय समूहगत छलफलको क्रममा उठेको छ ।

विधान महाधिवेशनस्थल अध्यक्ष केपी ओलीको फोटोमय बनाइएको वेला नेतृत्वको देवत्वकरण र भ्रष्टीकरणको विषय उठेको हो । महाधिवेशनस्थल, महाधिवेशन जाने बाटोदेखि पानीको बोटलमा समेत ओलीको तस्बिर टाँसिएको छ । एमाले विगतमा सामूहिक नेतृत्वको आधारमा चलेपछि पछिल्लो समय सामूहिकता हराउँदै गएकोमा कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् ।

विभाजनले एमालेलाई कमजोर बनाउने भएकाले कमीकमजोरी सच्याएर एकताको लागि आह्वान गर्नुपर्ने मत पनि उठेको छ । ‘विभाजनको केही कारण छैन, नेतृत्वको देवत्वकरण, भ्रष्टीकरणको कारणले विभाजन भएको हो । यसको अन्त्य गर्नुपर्छ, एमाले एकताका लागि आह्वान गर्नुपर्छ ।’ बागमती प्रदेशको समूहका उठेको विषय उद्धृत गर्दै एक प्रतिनिधिले भने, ‘एमाले छाडेर जाने कुरा ठीक होइन, आचरणगत विषयले समस्या पारेको छ । फरक मत राख्नेलाई पनि पार्टी एकतामा आह्वान गर्नुपर्छ ।’

राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि शनिबार १० समूहमा छलफल भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार पेस भएका प्रस्तावमाथि शनिबार समूहगत छलफल भएको हो । छलफलमा पदाधिकारी संख्या बढाउनुपर्ने विषय पनि उठेको छ । विधान महाधिवेशन आइतबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण’ को विषय एमाल..." A few seconds ago

सम्बन्धित खवर