‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तक लोकार्पण सम्पन्न – Satabdi News

‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तक लोकार्पण सम्पन्न

अर्जुन राई अपहेलित

१९ भाद्र, धरान । सुनसरीको धरान स्थित ‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तक लोकार्पण सम्पन्न गरिएको छ ।

शनिबार स्वर्णिम साहित्य समाजद्धारा यलम्बर स्मृति भवन, धरानमा आयोजित पुस्तक लोकार्पण कार्यक्रम आदीवासी जनजाती साहित्यकार महासंघका अध्यक्ष तथा मदन पुरस्कार विजेता राजन मुकारुङको प्रमुख आतिथ्यतामा पानसमा दिप प्रज्वलन गरि उद्ध्घाटन गरिएको थियो ।

लकडाउन सुरु भएसँगै साहित्यिक गतिविधि कम हुन छाडेपछि पूर्वमा पत्रकारिता तथा साहित्यमा आफ्नो कुसल छवि बनाउन सफल प्रकाश दिप्सालीले “लकडाउन शृङ्खला” सुरु गरेका थिए । उक्त शृङ्खलाद्धारा विश्वव्यापी रुपमा छरिएर रहेका सर्जकहरुका सिर्जनालाई संकलन गरि सर्जकको परिचय सहित शृङ्खलावद्ध रुपमा सामाजिक संजाल फेसबुक मार्फत प्रस्तुत गरिएको थियो ।

दिप्सालीकै सम्पादन तथा पात्लेपानी कला साहित्य प्रतिष्ठान हतुवागढी–८, भोजपुर, अन्तर्राष्ट्रिय परदेशी समूह, भारत र तायाजोङ मिडिया एण्ड प्रोडक्शन प्रा.लि. को प्रायोजनमा प्रकाशन गरिएको उक्त पुस्तक प्रमुख अतिथि राजन मुकारुङ, कला साहित्य तथा संस्कृति प्रतिष्ठानका संरक्षक एवं धरान–१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले, साहित्यकार कृष्ण बराल, पात्लेपानी कला साहित्य प्रतिष्ठानका संस्थापक विश्वजित चाम्लिङ, साहित्यिक पत्रकार देवेन्द्र खापुङले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

पुस्तकमा पहिलो चरणको कोरोना संक्रमणको कारण गरिएको लकडाउनको समयमा सिर्जना गरिएको कविता, गजल तथा विभिन्न व्यक्तित्वहरुको विचारलाई मुलढोका मार्फत प्रस्तुत गरिएको छ । पुस्तकमा सर्जकहरूको चित्र कृष्ण मरासिनीले तयार पारेका छन् । आवरणमा कलाकार ओम डीसी आरले साथ दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजन मुकारुङले कोरोनाले कुनैपनि बेला विपत्ति आउन सक्छ त्यसको लागि सामुहिक भएर लड्नु पर्ने शन्देस विश्वलाई दिएको र आफूलाई महान सम्झिने राष्ट्र र व्यक्तिहरुको दम्ब भत्किएको उल्लेख गरे ।

उनले भने “व्यापारको रुपमा फष्टाएका शैक्षिक संस्थाहरु, व्यापारको रुपमा फष्टाएका स्वास्थ्य संस्थाहरु ध्वस्त भएका छन् कम्तिमा पनि जनताको विश्वासबाट गिरेका छन्, व्यापारी हरुले लासमाथि पनि व्यापार गर्दो रहेछ भन्ने बोध गराएको छ । समाजवादको यात्रामा साँच्चिकै लागेका यो देशका नेताहरुले, राजनैतिक दलहरुले प्रतिवद्धताका साथ आफूलाई उभ्याउने हो भने एक दमै सहज बाटो बनेको छ ।”

हामीले समाजवादको सुन्दर कल्पना गरेको हो भने समाजवादमा जाने हो भने जनताको मौलिक हकहरु शिक्षा स्वास्थ्य क्षेत्रहरुलाई राष्ट्रियकरण गरिनु पर्ने बताउँदै मुकारुङले सबैलाई समान शिक्षा र सुविधा नै समाजवादको पहिलो सर्त र सुत्र भएको जिकिर गरे ।

उनले सर्जकहरु राज्य सत्ताले लकडाउनको समयमा पनि गरेका वेतिथि विरुद्ध जागरुक हुने कि नहुने भन्ने कुरा मुख्य पाटो रहेको समेत उल्लेख गरेका छन् । “साहित्य र सिर्जना भावनाको कुरा हो भन्ने होला ! तर तपाई आफ्नो भावनालाई कति अरुको दाष बनाएर राख्नु हुन्छ र कति स्वतस्फुर्त राख्नु हुन्छ भन्ने दृष्टिकोणले निर्माण गर्ने कुरा हो, सौन्दर्य चिन्तनको कुरा हो ।”

पुराना सौन्दर्य चिन्तनले मानिसलाई नयाँ कुरा सोच्न पर्छ भन्ने ज्ञान दिदैन तसर्थ सर्जकले त्यस्ता चिन्तनलाई भत्काउन पर्छ, समिक्षा गर्नुपर्छ र आफूले आफैलाई ‘के, मैले बोलेको बिम्ब ठिक हो ?’ भनेर प्रश्न गर्न सक्नु पर्नेमा मुकारुङले जोड दिए ।

कार्यक्रमको लोकार्पण पछि दोस्रो चरणमा कवि प्रदिप योङहाङको सहजिकरण तथा साहित्यिक पत्रकार देवेन्द्र खापुङ र कवि तथा समालोच मुनाराज शेर्माबीच “महामारीमा सिर्जना किन ?” विषयक छलफल कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै मुनाराज शेर्माले विभिन्न राजनीतिक आन्दोलन पछिको साहित्यिक परिवर्तन हेर्दा कोरोना संक्रमणले पनि विश्व साहित्यलाई नै प्रभाव पार्ने उल्लेख गरे ।

कार्यक्रमको तेस्रो चरणमा लक्ष्मण कट्वाल, अस्मिता भट्टराई, दिवश बलिभद्र कोईरालाले गजल वाचन गरेका थिए भने कवि गगन यक्पाङ्देन, , सुदिप पाख्रिन, नवराज बिस्टको कविता वाचन रहेको थियो ।

स्रष्टाहरूलाई निराशाबाट उज्यालोतर्फ अघि बढाउन र केही सिर्जनशील काम गर्न आफूले किताब ल्याउने साहस गरेको पुस्तकका सम्पादक दिप्सालीले बताए ।

शरण कुमार लिम्बुको अध्यक्षतामा सम्पन्न लोर्कापण कार्यक्रममा कवि तथा चित्रकार ओम डिसी आर, कवि एवं चित्रकार मुकुन्द प्रयास, दिपा मग्राती, कवि राज माङलाक, पत्रकार सुम्निमा चाम्लिङ लगाएत पूर्वका अधिकांश कवि, गजलकार एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तक लोकार्पण सम्पन्न" A few seconds ago

सम्बन्धित खवर