अफगानिस्तानको दोस्रो ठूलो सहरमा तालिवानको कब्जा – Satabdi News

अफगानिस्तानको दोस्रो ठूलो सहरमा तालिवानको कब्जा

२९ साउन २०७८, शुक्रबार । सरकारविरुद्ध युद्धरत तालिवानले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दहरलाई कब्जामा लिएको छ । तालिवानले केही हप्ता अघिदेखि घेरा हालेर राखेको अफगानिस्तानको दक्षिण पूर्वी भागमा अवस्थित सहर कन्दहरलाई शुक्रबार पूर्ण रूपमा कब्जा गरेको हो ।

अधिकारीहरूले कन्दहर सहर तालिवानको कब्जामा पुग्नुलाई अमेरिकासमर्थित सरकारको अन्त्यको सुरुवात भएको बताएका छन् । तालिवानले शुक्रबार वक्तव्य जारी गर्दै कन्दहर सहर कब्जामा लिएको बताएको छ । तालिवानले गभर्नरको कार्यालय, प्रहरी हेडक्वार्टर र अन्य कामकारबाही गर्ने सहरभरिका प्रमुख केन्द्रहरूलाई कब्जामा लिएको बताएको छ ।

‘सयौँ हातहतियार, सवारीसाधन र गोला बारुद बरामद भएको छ,’ वक्तव्यमा भनिएको छ ।

कन्दहर सहर अफगानिस्तानका तीन मुख्य राजमार्गहरूको संगमस्थान हो । त्यसैले याे विशेष रणनीतिक महत्वको क्षेत्र हो । अमेरिकी सेनाले पनि कन्दहरलाई आफ्नो सैन्य क्रियाकलाप सञ्चालन गर्ने केन्द्रको रूपमा प्रयोग गर्दै आइरहेको थियो । विशेष रणनीतिक क्षेत्र भएकाले कन्दहरलाई कब्जामा लिनु तालिवानको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।

गत एक हप्ता तालिवानले अफगानिस्ताका ३४ मध्ये १३ वटा प्रान्तीय राजधानीलाई नियन्त्रणमा लिइसकेको छ । बिहीबार बेलुका मात्रै तालिवानले अफगानिस्तानको तेस्रो ठूलो सहर हेरातलाई पनि  नियन्त्रणमा लिइसकेको छ । अमेरिकी सेना फिर्ता भएसँगै तालिवानले शृंखलाबद्ध रूपमा र तीव्र गतिमा अफगानिस्तानका सहरहरू कब्जा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अफगानिस्तानको दोस्रो ठूलो सहरमा तालिवानको कब्जा" A few seconds ago

सम्बन्धित खवर