जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा बहुमत सदस्यको हस्ताक्षर – Satabdi News

जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा बहुमत सदस्यको हस्ताक्षर


११ साउन २०७८, सोमबार । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको थियो।

आयोगमा उपेन्द्र-बाबुराम पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले हस्ताक्षर गरिसकेका छन्। जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ।

रेशम चौधरी

जसपा विवादमा रेशम चौधरी तटस्थ

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन्  ।

डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् ।

जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।

सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको जिकिर गरे ।

‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले निर्वाचन कार्यालयबाहिर पत्रकारहरुसँग भने ।

मनीष सुमन

मनीष सुमनले महन्थको साथ छोडे, उपेन्द्र यादवको पक्षमा हस्ताक्षर

जनता समाजवादी पार्टी (जसपा)का नेता मनीष सुमनले संस्थापन पक्षको आधिकारिकताका लागि सनाखत गरेको बताएका छन्।

‘पार्टीलाई जोगाउन मूलधारको पक्षमा म उभिएको छु,’ सुमनले भने, ‘आजको दिन हामीलाई पीडादायी छ। पार्टीलाई जोगाउन यहाँ उभिएको छु।’ महन्थ ठाकुर पक्षको बैठकमा आफूले पार्टीलाई जोगाउन एक ठाउँमा उभिन आग्रह गरेको, तर त्यो मान्ने अवस्था नआएपछि मूलधारको पक्षमा उभिएको उनको भनाइ छ।

राजकिशोर यादवको हस्ताक्षर उपेन्द्रको पक्षमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा राजकिशोर यादव उपेन्द्र यादव पक्षमा उभिएका छन्। महन्थ ठाकुरलाई साथ दिँदै आएका राजकिशोरले निर्वाचन आयोगमा उपेन्द्र-बाबुराम भट्टराई पक्षको पार्टी आधिकारिक भएको भन्दै सनाखत गरेका हुन्।

यादव केपी ओली सरकारमा मन्त्रीसमेत भएका थिए। पार्टी एकताको पक्षमा आफू मूलधारमा उभिएको उनले बताए।

तस्बिर: सुशिला श्रेष्ठको फेसबुक वालबाट

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा..." A few seconds ago

सम्बन्धित खवर