कांग्रेसमा मन्त्री बन्न धेरै आकांक्षी ; देउवाले मागेका छैनन् नाम – Satabdi News

कांग्रेसमा मन्त्री बन्न धेरै आकांक्षी ; देउवाले मागेका छैनन् नाम

५ साउन काठमाडौं । सर्वाेच्च अदालतको २८ असारको फैसलाअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको हस्ताक्षर जुटाएका कांग्रेस सभापति शेरबहादुर देउवा २९ साउनमा प्रधानमन्त्री नियुक्त भए । ३ साउनमा विश्वासको मतसमेत लिइसकका उनको मन्त्रिपरिषद् भने ५ सदस्यीय मात्र छ ।

कांग्रेससहित, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा (एमाले)का २२ सांसदसहित १६५ सांसदको समर्थन पाएका देउवालाई मन्त्रिपरिषद् विस्तार भने कम चुनौतीपूर्ण छैन ।

नेताहरुका अनुसार अहिलेसम्म गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन । संविधानअनुसार मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय बनाउन पाइन्छ ।

हाल गृहमन्त्रीमा बालकृष्ण खाँण, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्रीमा जनादर्न शर्मा र उर्जामा पम्फा भुसाल नियुक्त भइसकेका छन् । बाँकी मन्त्रालय भागवण्डामा प्रधानमन्त्री देउवाले माओवादी, जसपाका साथै आफ्नै पार्टीको तीन वटा समूहलाई चित्त बुझाउनुपर्ने हुन्छ ।

कांग्रेसमा तीन समूह अस्तित्वमा छन् । देउवा आफैंले नेतृत्व गरेको संस्थापन समूह छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलााको अर्को समूह छ । नेताहरुका अनुसार मन्त्रालय भागवण्डा गर्दा कांग्रेसको भागमा बढीमा आठ वटा मन्त्रालय आउने सम्भावना छ । तर आंकाक्षी भने धेरै छन् ।

देउवानिकट एक नेताका अनुसार पौडेल समूहले उपप्रधानमन्त्रीसहित चार वटा मन्त्रालय मागेको छ । ‘पार्टीभित्रको सन्तुलन कायम गर्न पनि हामीले उपप्रधानमन्त्री पाउनुपर्छ भन्ने साथीहरुको भनाइ छ,’ नेता अर्जुननरसिंह केसी भन्छन् ।

उपप्रधानमन्त्री पाएमा यो समूहबाट प्रकाशमान सिंह मन्त्री बन्ने सम्भावना छ । आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीसमेत रहेका पूर्वमहामन्त्री सिंहले भने सरकारमा जानेबारे मुख खोलेका छैनन् ।

यस्तै उपप्रधानमन्त्री भइसकेकी सुजाता कोइरालाले सरकारमा जाने इच्छा राखेकी छन् । सिंह सरकारमा नगए उपप्रधानमन्त्रीमा कोइरालाको दाबी बलियो हुने पौडेल समूहका नेताहरु बताउँछन् । पौडेल समूहबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, तेजुलाल चौधरी, प्रमोदकुमार यादव, राजेन्द्र केसी, प्रमिला राई, प्रकाश रसाइली ‘स्नेही’को नाम चर्चामा छ ।

यस्तै पूर्वमहामन्त्री सिटौला समूहले एउटा मन्त्री पाउने सम्भावना छ, जसमा उमाकान्त चौधरीको नाम पनि चर्चामा छ । यद्यपि यसअघि ९ महिना स्वास्थ्यमन्त्री हुँदा राम्रो काम गरेको तथा कोरोना नियन्त्रण र रोकथामका लागि संसदभित्र र बाहिर रचनात्मक भूमिका खेलेका गगन थापालाई पनि मन्त्री बनाउनुपर्ने मत बलियो छ । संस्थापन समूहकै कतिपय नेताले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई थापालाई स्वास्थ्यमन्त्री बनाउन सुझाएका थिए ।

संस्थापन समूहबाट पुष्पा भुसाल, डा. डिला संग्रौला, भरतकुमार शाह, नारायण खड्का, बहादुरसिंह लामा, विनोद चौधरी, मानबहादुर विश्वकर्मा र तारादेवी भट्टको नाम चर्चामा छ । उपसभामुख पद रिक्त भएकाले मन्त्रीका लागि आकांक्षी महिला सांसदलाई देउवाले यसमा व्यवस्थापन गर्ने विकल्प पनि छ ।

सभामुख र उपसभामुख एउटै पार्टी र लिंग हुन नहुने संवैधानिक व्यवस्था छ । हाल सभामुख रहेका अग्नि सापकोटा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् भने राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसद दुर्गा पौडेलले यसअघि नै उपसभामुख नबन्ने बताएकाले यो पद कांग्रेसकै भागमा पर्ने सम्भावना बलियो छ ।

कांग्रेसभित्र मन्त्रीका आकांक्षी नेता 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कांग्रेसमा मन्त्री बन्न धेरै आकांक्षी ; देउवाले..." A few seconds ago

सम्बन्धित खवर