एमालेमा ओली र नेपाल पक्ष सहमति नजिक – Satabdi News

एमालेमा ओली र नेपाल पक्ष सहमति नजिक

२५ असार, काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन गरेर भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो । कार्यदलका सदस्यहरुका अनुसार २ जेठ २०७५ मा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै पक्ष सहमति नजिक पुगेका छन् ।

यद्यपि दुबै पक्षले थप छलफल गरेर आउने भनेकाले विषय खुलाउन नमिल्ने नेताहरुले बताएका छन् । कार्यदलका एक सदस्य भन्छन्, ‘हिजोभन्दा एक कदम अगाडि बढेका छौं । तर सहमतिमा पुग्न अझै अर्को कदम चाल्न आवश्यक छ ।’

कार्यदलका सदस्य ज्ञवालीले भने पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा आफूहरु लगभग सहमतिमा पुगेको बताएका छन् । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन छलफल गर्नुपर्ने बाँकी रहेको भन्दै उनले भने, अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याएका छौं ।’

यद्यपि उनले पनि केके सहमति भयो भन्ने खुलाएनन् । भोलि अपरान्ह बस्ने बैठकले सहमतिलाइृ अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गर्ने कार्यदल सदस्य ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमालेमा ओली र नेपाल पक्ष सहमति नजिक" A few seconds ago

सम्बन्धित खवर