आज देखि युनियन लाइफको आईपीओ आवेदन – Satabdi News

आज देखि युनियन लाइफको आईपीओ आवेदन

२४ असार, काठमाडौ । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज बिहीबार (असार २४ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएकाे हाे।

कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीकाे आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्यभुतकर्तामा नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।

कति कित्ताको लागि आवेदन दिने?

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा माथि १० अंकको गुणाङ्क संख्यामा अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।

पछिल्लो समय आईपीओमा आवेदन दिनेको संख्या २१ लाख हराहारी पुगिसकेका छन्। त्यस अनुसार कम्पनीको आईपीओमा पनि मागभन्दा बढी आवेदन पर्ने निश्चित छ। मागभन्दा बढी आवेदन परे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट ५ लाख ८० हजार ५०० जनाले मात्रै न्यूनतम १० कित्ता शेयर पाउनेछन्।

यसकारण कम्पनीको शेयरमा पनि १० कित्ताको लागि मात्रै आवेदन गर्नु बुद्धिमानि हुनेछ।

तीन वर्षमा सञ्चित आय एक अर्ब १० करोड पुर्याउने प्रक्षेपण

इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्ममा सञ्चित आय एक अर्ब १० करोड ७४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७४/७५ मा सञ्चित आय ८ करोड ९० लाख रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा २२ करोड ७७ लाख रुपैयाँ सञ्चित आय रहेको थियो।

आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चित आय ७२ करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको विवरण पत्रमा उल्लेख छ। चालु आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले सञ्चित आय ७८ करोड ५१ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ९१ करोड ९१ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ।

यस्तै, आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ। गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विरण अनुसार इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४६ पैसा र प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा रहेको छ।

चालु आर्थिक वर्षमा प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ र प्रतिशेयर आम्दानी ४ रुपैयाँ १७ पैसा हुने प्रक्षेपण गरिएको छ।

कम्पनीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ५ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५६.१६ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा कम्पनीले ३ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

औसत जोखिम जनाउने रेटिङ्ग

कम्पनीलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी–आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउछ।

इक्रा नेपालले प्रदान गरेको ग्रेटिङ्गको अवधि एक वर्षको लागि हुनेछ। त्यस अनुसार क्रेडिट रेटिङ्गको अवधी २०२२ मे १६ सम्म कायम हुनेछ।

कस्तो कम्पनी हो ?

युनियनल लाइफ इन्स्योरेन्स, कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना भई बीमा ऐन २०४९, बीमा नियमावली २०४९ बजोजिम जीवन बीमा व्यवसायको कारोबार गर्ने कम्पनी हो।

कम्पनी ऐन बमोजिम दर्ता भइ २०७४ असाेज ३१ गते कारोबार स्वीकृति प्राप्त गरी बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने बीमकको इजाजत पत्र २०७४ असार २० गते प्राप्त गरी २०७४ असाेज ४ गतेदेखि बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नं. ८ रुपन्देहीमा रहेको छ।

कम्पनीको मुख्य कारोबार गर्ने कार्यालय भने काठमाण्डौं महानगरपालिका, वडा नं. १०, नयाँ बानेश्वरमा रहेको छ।

हाल कम्पनीले सातवटा प्रदेश कार्यालयहरु सहित २०५ वटा शाखा तथा उपशाखा कार्यालयहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

कम्पनीको प्रथम वार्षिक साधारण सभाको निर्णय अनुसार सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न, सेवा विकास गरी बीमा व्यवसायको जोखिम धारण बढाउनको लागि आवश्यक पर्ने पूँजी व्यवस्था गर्न सर्वसाधराणलाई आईपीओ निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ।

कम्पनीले आईपीओ निष्काशन गरी संकलन हुने पूँजी कम्पनी ऐन, बीमा ऐन, नियमावली तथा अन्य प्रचलित कानुन बमोजिमको अधिनमा रही कम्पनीको व्यावसायिक प्रयोजनमा उपयोग गरिने जनाएको छ।

आईपीओ निष्काशनपछि संकलन भएको रकममध्ये कम्पनीले नेपाल सरकारको ऋणपत्र/विकास ऋणपत्रमा १६ करोड १२ लाख ५० हजार रुपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा २५ करोड ८० लाख रुपैयाँ, विकास बैंकको मुद्दती निक्षेपमा ९ करोड ६७ लाख ५० हजार रुपैयाँ, वित्त कम्पनीको मुद्दती निक्षेपमा ६ करोड ४५ लाख रुपैयाँ र पब्लिक कम्पनीको शेयरमा ६ करोड ४५ लाख रुपैयाँ लगानी गर्ने कम्पनीले जनाएको छ।

सञ्चालक समितिमा को को छन् ?

इन्स्योरेन्सको कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। समितिमा संस्थापक शेयरधनीको तर्फबाट चारजना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र व्यवसायिक विशेषज्ञ १ जना सञ्चालक हुने प्रावधान छ।

सञ्चालक समितिको अध्यक्षमा शुलभ अग्रवाल रहेका छन्। यस्तै, सञ्चालक समिति सदस्यमा सीमा गोल्छा, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल र दवी प्रसाद शर्मा रहेका छन्। शर्मा भने स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका हुन।

हाल लघुवित्तको सञ्चालक समितिमा ५ जना रहेका छन् भने सर्वसाधारण शेयरधनीहरुबाट २ जना चयन हुन बाँकि छ।

भावी योजना तथा रणनीति

नेपालमा बीमा व्यवसायको विकास गर्न बीमा सम्बन्धी जन चेतना अभिबृद्धि गरी हरेक क्षेत्रमा बीमा प्रति आकर्षित गर्दै सर्वसाधारण, उद्योगी, व्यापारी एवं विभिन्न संघ संस्थाहरुसम्ममा बीमा प्रणाली मार्फत सरल, सुलभ र छिटो छरिटो तरिकाबाट भरपर्दो एवं गुणस्तरीय बीमा सेवा प्रदान गर्ने तथा निकट भविष्यमा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्ने, सेवामा विविधिकरण गर्दै जाने तथा थप सेवा विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ।

ग्राहकहरुको सेवा र सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राखेर काम गर्ने कम्पनीले जनाएको छ।

जीवन बीमा सेवालाई समाजका हरेक क्षेत्रसम्म विस्तार गर्न उपयुक्त बीमा योजनाहरु तर्जुमा गरी गुणस्तरीय बीमा सेवाप्रदान गर्ने कार्यमा प्रयासरत रहने, लगानी विविधिकरण गरी औसत आय बृद्धि गर्ने तथा बीमितहरुको प्रतिफल बृद्धि प्रयासरत रहने, लघु बीमा योजनाको माध्यमबाट बीमा सेवा पुर्याउने कम्पनीको योजना छ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजार समेतलाई दृष्टिगत गरी नयाँ बीमा योजनाहरु तर्जुमा गर्ने, कम्पनीको सूचना प्रविधिको विकास र विस्तारलाई थप तिव्रता दिई कार्य क्षमता र सुरक्षामा बृद्धि गर्ने, बीमितको सेवा प्रणालीमा गुणात्मक बृद्धि गर्न दावी भुक्तानी प्रकृयामा सरलीकरण एवं नविकरण बीमाशुल्क भुक्तानीमा सहजता अपनाउने, कर्मचारी तथा अभिकर्ताहरुको पेशागत दक्षता अभिबृद्धिका कार्यक्रमहरु तर्जुमा गर्ने कम्पनीको भावि रणनीति छ।

सेवाग्राहीहरुको संख्यामा बृद्धि गर्दै लैजाने, समय सापेक्ष रुपमा कार्यक्षेत्र विस्तार गरी कम्पनीको दायरा फराकिलो बनाउँदै लैजाने, तथा भविष्यमा आवश्यकता अनुसार जारी तथा चुक्ता पूँजी थप गर्दै लाने कम्पनीको योजना छ।

यसैगरी, कम्पनीले जीवन बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरी बीमा व्यवसायबाट बीमित तथा लगानीकर्ता शेयरधनीहरुलाई यथोचित प्रतिफल दिन प्रयास गर्ने जनाएको छ ।

साभार:मेरो लगानी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज देखि युनियन लाइफको आईपीओ आवेदन" A few seconds ago

सम्बन्धित खवर