शेयर बजार हरियो बन्दै २२ सय अंक भन्दा माथि उकालो – Satabdi News

शेयर बजार हरियो बन्दै २२ सय अंक भन्दा माथि उकालो

२५ पुस, काठमाडौं । पुँजी बजारले अर्को उचाई कायम गरेको छ । सोमबार नेप्से सूचक ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा आइपुगेको छ । आम लगानीकर्ताको मनोविज्ञानमा निकै प्रभाव पार्न सक्ने २२०० सयको विन्दुलाई सोमबार नेप्सेले सजिलै पार गरेको हो । सूचक निरन्तर बढ्दै जाँदा दैनिक टर्नओभरले पनि सपोर्ट गर्दै गएको छ । यस दिन ५ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दर्जनबढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

सूचकलाई कारोबार रकमले सपोर्ट गरिरहेकाले बजार थप बलियो बन्दै गएको जानकारहरुले बताएका छन् । करिब १७ महिनासम्म घटेर पीँधैमा पुगेको बजारमा अहिले छोटो समयमै उत्साह भरिएको अवस्था छ । निरन्तर घट्दाघट्दा एकातिर सेयर भाउ निकै सस्तो भएको थियो । मूल्य निकै सस्तो हुँदा पनि गलत नीति र सरकारको भरपर्दो सम्बोधनबिना नेप्सले गति लिन सकेको थिएन ।

अर्थात, आम लगानीकर्ताको मनोबल कमजोर रहेको थियो । तर नयाँ सरकारले पुँजी बजारलाई सम्बोधन गर्यो । मन्त्रिपरिषद् बैठकबाटै पुँजी बजार सुधारका लागि आवश्यक कार्य गरिने निर्णय गरियो । प्रधानमन्त्री र अर्थमन्त्री दुवैले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधारका लागि काम गर्ने सार्वजनिकरुपमा उद्घोष गरे । सरकारले सम्बोधन गरेकै कारण अहिले एकाएक लगानीकर्ताको मनोबल बढेको हो । यस्तै, चालु पँुजी कर्जामा पनि केन्द्रीय बैंक लचक भएको छ ।

यसको मार्गदर्शन संशोधन गरेपछि निजी क्षेत्र पनि उत्साहित भएको छ । यसको प्रभाव पनि बजारमा परेको अनुमान गरिएको छ । यसैगरी, पछिल्ला दिनहरुमा बैंकिङ प्रणालीमा तरलता थपिएको छ । तरलता अवस्था सहज भएसँगै अब माघदेखि ब्याजदर घट्ने अनुमानहरु भइरहेको छ । ब्याजदर घट्यो भने त्यो पुँजी बजारका लागि थप सकारात्मक पक्ष हुनेछ । ब्याजदर घट्ने विश्वासमै बजारले थप पोजेटिभ रियाक्ट गरेको अनुमान गरिएको छ ।

अहिलेसम्म बजारमा ठूलो करेक्सन आएको छैन । करेक्सन त भएको छ तर त्यो इन्ट्रा डे मै मात्र । इन्ट्रा डे करेक्सन हुँदै नेप्से फेरि अघि बढ्दै गरेको अवस्था छ । यी सकारात्मक पक्षहरुका बाबजुत पनि आम लगानीकर्ताले बजार सधैं एउटै रेखामा घुम्दैन । तलमाथि हुँदै अघि बढ्छ भन्ने पक्ष बिर्सिनु हुँदैन । यसैअनुसार आफ्नो खरिद, बिक्री वा होल्ड गर्ने सम्बन्धी निर्णय लिन उचित हुने जानकारहरु बताउँछन् ।

सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीमा अलि लामो समयसम्म होल्ड गर्ने हिसाबले सेयर खरिद गर्न सके बेलाबखत भइरहने सानातिना करेक्सनसँग पनि चिन्ता लिनुपर्दैन । यस दिन २५७ कम्पनीको १ करोड ४६ लाख कित्ता सेयर कारोबार भएको छ । २० करोड ६८ लाख रुपैयाँसहित कारोबार रकममा रिडी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी हाइड्रोपावर र एनआइसी एसिया बैंक परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "शेयर बजार हरियो बन्दै २२ सय अंक भन्दा माथि उकालो" A few seconds ago

सम्बन्धित खवर