मुख्यमन्त्री दाबी गर्ने समय २४ घन्टा, तर विपक्षीले दुई घन्टाभित्रै दाबी पेस गरे – Satabdi News

मुख्यमन्त्री दाबी गर्ने समय २४ घन्टा, तर विपक्षीले दुई घन्टाभित्रै दाबी पेस गरे

२८ जेठ, काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार दिउँसो ३ः०० बजे २४ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि दाबी गर्न आह्वान गरिन् । तर, विपक्षी गठबन्धनले त्यसको दुई घन्टा नबित्दै प्रदेश प्रमुखसमक्ष सशरीर उपस्थित भएर दाबी प्रस्तुत गरेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न विपक्षी गठबन्धनले दाबी प्रस्तुत गरेको हो ।

नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, राष्ट्रिय जनमोर्चाका दुईजना, जनता समाजवादीका दुई र एकजना स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३१ जना सांसदले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न भन्दै हस्ताक्षरसहित दाबी पेस गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुनः कारबाही गरिएसँगै ३० जनाको समर्थन हुँदा बहुमत पुग्छ ।

मुख्यमन्त्रीनिवासमा दाबी पेस गरेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्माले आफूहरूले दाबी पेस गरेको र प्रदेश प्रमुख सीताकुमारी पौडेलले अध्ययन गर्छु भनेको जानकारी दिए । ‘हामीले हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका छौँ । प्रदेश प्रमुखले भोलि (शनिबार) ३ः०० सम्मको समय छ अध्ययन गर्छु भन्नुभएको छ’ उनले भने ।
कांग्रेस सांसद कुमार खड्काले यसपालि आफूहरूले ३१ जनाको हस्ताक्षर र सशरीर उपस्थित भएकाले मुख्यमन्त्रीमा पोखरेललाई नियुक्ति गर्नुको विकल्प नरहेको प्रतिक्रिया दिए ।

गण्डकी प्रदेशमा ४ फाल्गुन  २०७४ बाट प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री गुरुङले गत २९ वैशाखमा दोस्रोपटक गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीको शपथ लिएका थिए । मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८को उपधारा ५ बमोजिक नयाँ सरकार बनाउनका लागि २४ घन्टाको समय दिएर शुक्रबार आह्वान गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मुख्यमन्त्री दाबी गर्ने समय २४ घन्टा, तर विपक्ष..." A few seconds ago

सम्बन्धित खवर