‘गुनासो प्रहरीसँग होइन, खड्ग ओलीसँग छ’ – Satabdi News

‘गुनासो प्रहरीसँग होइन, खड्ग ओलीसँग छ’

२८ जेठ, काठमाडौं । ‘वृद्ध उमेरको मान्छेलाई प्रहरी धरपकडले गाह्रो भएन ?’ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट रिहा हुँदै गर्दा लेखक खगेन्द्र संग्रौलाले जवाफ दिए, ‘निषेधाज्ञा उल्लंघनको निहुँमा प्रहरी भाइहरूले समातेकोमा गुनासो छैन । संविधान उल्लंघन गर्ने खड्गप्रसाद ओलीको राजसँग हाम्रो गुनासो छ ।’

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारीको विरोधमा बालुवाटार नजिकै प्रदर्शन गरेका ७६ वर्षीय साहित्यकार संग्रौलासहित १८ जना बृहत नागरिक आन्दोलनका अभियन्तालाई प्रहरीले शुक्रबार ११ बजेतिर प्रकाउ गरिएको थियो ।

बालुवाटारबाट मालीगाउँ प्रहरी वृत्त ल्याएर उनीहरुलाई छ घन्टा राख्यो र र साँझ ५ बजे छाड्यो ।

पक्राउ पर्नेहरूमा सबभन्दा पाको उमेरका प्रदर्शनकारी लेखक संग्रौला नै थिए । पञ्चायतकालदेखि राजनीतिक–सामाजिक आन्दोलनमा निरन्तर सक्रिय उनलाई प्रहरी हस्तक्षेपबारे पूर्वजानकारी थियो । तर युवाहरूसँगै सडकमा आए ।

‘महामारीको बेला सडकमा आउन बाध्य पार्ने काम सरकारले नै गरेको छ’ संग्रौलाले अनलाइनखबरसँग भने, ‘सरकारको वैधानिकताकै प्रश्न उठेको बेला मेडिकल कलेजलाई मनलाग्दी तवरले सम्बन्धन दिन पाइँदैन ।’

आफ्नै घरअगाडिको प्रहरी वृत्तबाट निस्किँदै गर्दा लेखक डा. सञ्जीव उप्रेती र उनकी श्रीमती डा. अर्चना थापा खेद प्रकट गर्दै थिए । डा. उप्रेतीको निवास मालीगाउँ प्रहरी वृत्त नजिकै छ पर्छ । शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन जाँदा पक्राउ गरिनुलाई उनीहरू तानाशाही सत्ताको कायरता मान्छन् ।

डा. उप्रेती भन्छन्, ‘सरकार झनझन् निरंकुशतामा गएको छ । माघ १२ को घटना होस् वा आज राज्यसत्ता कब्जा गरिसक्दा पनि उसले दमनकारी नीति लिएको छ ।’ माघ १२ गतेपनि बृहत् नागरिक आन्दोलनमा प्रहरीले पानीको फोहरा प्रहार गरी तितरविरत गर्दा एकदर्जन अभियन्ता घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘गुनासो प्रहरीसँग होइन, खड्ग ओलीसँग छ’" A few seconds ago

सम्बन्धित खवर