सेयर बजारमा खरिदबिक्रिमा अहिलेसम्मकै सर्बाधिक: नेप्से रेकर्ड ब्रेक गर्दै २९०० अंकमाथि उक्लियो – Satabdi News

सेयर बजारमा खरिदबिक्रिमा अहिलेसम्मकै सर्बाधिक: नेप्से रेकर्ड ब्रेक गर्दै २९०० अंकमाथि उक्लियो

२३ जेठ, काठमाडौं । वाणिज्य बैंकहरुको सेयर भाउ वृद्धि हुन थालेपछि सेयर बजारमा थप रौनकता आएको छ । बैंकहरुको सेयर भाउमा क्रमशः वृद्धि हुँदै आइतबार नेप्से सूचक र खरिदबिक्री रकम दुवैले अर्को नयाँ कीर्तिमान कायम गरेका छन् । आइतबार १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो । यसअघि जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा आइपुगेको छ । यो पनि अहिलेसम्मकै उच्च विन्दु हो । लामो समयदेखि बैंकहरुको मूल्य वृद्धि हुन सकेको थिएन । आम लगानीकर्ताले पनि बैंकको सेयर भाउ किन नबढेको भन्दै प्रश्नहरु तेर्साउने गरेका थिए । तर आम लगानीकर्ताको जिज्ञासा र प्रश्नहरुलाई शान्त पार्ने कोशिससहित गत बिहीबारदेखि यस समूहको सेयर भाउमा पनि विस्तार हुन थालेको छ ।तुलनात्मक रुपमा अहिले सबैभन्दा सस्तो सेयर भाउ पनि बैंकहरुकै देखिएको छ ।

बैंकहरुको पीई रेसियो पनि यही पुष्टि गरेको छ । सोही कारण लगानीकर्ताहरु विस्तारै बैंकिङ सेयरतर्फ आकर्षित हुन थालेको अनुमान गर्न सकिन्छ । बैंक तथा वित्तीय समूहहरुमा चमक आउन थालेसँगै सेयर कारोबार रकममा थप तेजी आइरहेको छ । आधारभूत तथ्यांकहरुले पनि तुलनात्मकरुपमा बैंकहरु सस्तो देखिएकाले पनि लगानीकर्ताहरु विस्तारै यसतर्फ आकर्षित हुन लागेको अनुमान गर्न सकिन्छ ।

बैंक बाहेक अरु समूहहरुमा पनि मूल्य बढ्ने अनि करेक्सन आउनेक्रम जारी छ । सेयर बजार समग्रमा बुल रनमा रहेको छ । दिनहुँ नयाँ लगानीकर्ताहरु बजार प्रवेश गरिरहेका छन् । सहज तरलता, सस्तो ब्याजदर अनि लगानीका अन्य क्षेत्र संकुचित भएकाले पनि सर्वसाधारण सेयर बजारतर्फै आकर्षित भएका हुन् । अनलाइन प्रविधिको सुरुवातसँगै सेयर बजारमा आम लगानीकर्ताको पहुँच वृद्धि भएको छ ।

किनबेचको अर्डर आफैंले राख्न सक्ने भएकाले छिटो निर्णय लिन लगानीकर्तालाई सहयोग पुगेको अवस्था छ । यसले पनि बजारमा चहलपहल वृद्धि गर्न थप सहयोग पुगेको हो । बजार बढ्दा होस् वा घट्दा आम लगानीकर्ताले जहिले पनि सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गर्नुपर्छ । सम्बद्ध कम्पनीको नाफा, लाभांश वितरण क्षमता, ब्यवसाय विस्तारको सम्भावना लगायतका महत्वपूर्ण पक्षलाई ख्याल गर्न कहिल्यै पनि बिर्सिनु हुँदैन ।

कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ । दोस्रोमा निफ्रा र तेस्रोमा लुम्बिनी विकास बैंक परेका छन् । ५ कम्पनीको भाउ ९% भन्दा माथिदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ८९.८५ अंकले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सेयर बजारमा खरिदबिक्रिमा अहिलेसम्मकै सर्बाधिक: ..." A few seconds ago

सम्बन्धित खवर