ए नायक खलनायक हो
खुवालुङ कुनै ब्रह्मा, विष्णु वा महेश्वर होइन
कृष्ण, राम, काली, सीता पनि होइन
न बुद्ध हो न अल्लाह
न यसु हो न गुरु नानक
राज्यको सम्पती अर्पेर बनाएको पशुपति पनि होइन
न रानी पोखरी हो न त धरहरा नै
गाउँको प्रत्येक डाँडामा टुक्रुक्क उभिएको
अशोभनिय भ्यु टावर पनि होइन
सहरको चेपमा अल्मलिएको पार्क पनि होइन
खुवलुङ इतिहास हो
प्रकृति हो
सभ्यता हो
कसैले लेखेको महाभारतको कुनै थुम्को होइन
न त रामायणको कपोकल्पित राजदरबार, पहाड या खोला
यो त आफै अविचल उभिएको
जिउँदो सभ्यता हो
संस्कृती हो
सिलिचुङबाट बग्दै झरेको नदीलाई
कहिले रोकेको थियो र खुवालुङले ?
टेम्केबाट बहदै आएको हावाको झोक्कालाई
कहिले छेकेको थियो र खुवालुङले ?
मानव जीवनको विरुद्ध कहिले उभियो हँ ?
हजुरको चार पाङ्ग्रे पँजेरोलाई ठक्कर दियो कि
हजुरको वायुयान खसायो ?
हुन सक्ला हजुरको अग्लो भ्यु टावरलाई गिज्यायो
हुन सक्ला हजुरको कृतिम बैगैँचालाई लाज लाग्यो
तर ओ खलनायक
यो आफ्नै जगमा अडिग उभिरहेको सभ्यता हो
तिमी डाहले जतिसुकै जल / मर
तिमी इर्ष्याले छटपटाउ
र फुटाउनु भन एउटा सभ्यता
दबाउनु भन एउटा अस्तित्व
एउटा संस्कृती
एउटा इतिहास
तर छुन नपाउँदै खुवालुङ
पुग्न नपाउँदै खुवालुङ
तिम्रो शीर छेदन गरेर भोग चढाइनेछ
र इतिहासको अर्को भाग थपिनेछ ।