उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बियो – Satabdi News

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बियो

२८ वैशाख २०७८, मंगलबार। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरूको मंगलबार बसेको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बिहान अत्यावश्यक सामान खरिदका लागि ९ बजेसम्मको समय तोकिएकोमा १ घन्टा बढाएर १० बजेसम्म पुर्‍याइएकाे छ ।  तर, यो समयमा किनमेल गर्ने र सम्बन्धित व्यवसायीले स्वास्थ्य सतर्कताका कामदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।

स्वास्थ्य मापदण्ड प्रयोग भए–नभएको अनुगमन गरिनेछ । अब विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठानहरू पार्टी प्यालेसमा गर्न पाइनेछैन । पार्टी प्यालेसमा गरिने सबै धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरूमा रोक लगाइएको छ । घरमा नै अत्यन्तै न्यून सदस्य उपस्थित भएर स्वास्थ्य मापदण्ड पालना गरी गर्ने काममा भने रोक लगाइनेछैन ।

यसअघि  पहिलो चरणमा वैशाख १६ देखि २२ गतेसम्म र दोस्राे चरणमा वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाडाैं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । उनले स्वास्थ्य मापदण्ड पालना भए–नभएको, मास्क प्रयोग र अनावश्यक हिँडडुल गर्नेहरूमाथि कडा अनुगमन गरिने र मास्क नलगाउनेप्रति जरिवाना गर्ने, अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेलाई होल्डिङमा राखिने बताए ।

खाद्यान्न, अत्यावश्यक वस्तु, औषधिलगायतले पासको आधारमा र पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवतजावतमा सहजीकरण गरिनेछ । मृत्यु संस्कार र बिरामी लिएर जिल्लाबाहिर जानुपर्ने अवस्थालगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बियो" A few seconds ago

सम्बन्धित खवर