संघीयता, गणतन्त्र समाप्त गर्नेलाई मत किन दिने ? उपेन्द्र यादब – Satabdi News

संघीयता, गणतन्त्र समाप्त गर्नेलाई मत किन दिने ? उपेन्द्र यादब

बैशाख २७, काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष  उपेन्द्र यादवले ओलीविरुद्ध ‘त्याग र बलिदानबाट प्राप्त सङ्घीयता, गणतन्त्रलाई समाप्त पार्न तपाईलाई मत किन दिने ?’ भनी प्रश्न गरेका छन् । संसद्को जारी बैठकलाई सम्बोधन गर्दै यादवले भने ‘हाम्रो पार्टीले विश्वास मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बाटोमा अघि बढिसकेको छ ।’

हिजो त्रुटिपूर्ण संविधान जारी हुँदा त्यसविरुद्ध मधेसका जनता आन्दोलित हुँदा गोली हान्दै दुईचार वटा आँप झरेको संज्ञा दिने प्रधानमन्त्री ओलीले अब केही मधेसीलाई त्यही आँप दिन लागेको भन्दै यादवले व्यङ्ग्य गरेका थिए । उनको यो व्यङ्ग्य ओली सत्ता टिकाउन राजनीतिक कसरतमा जुटेका आफ्नै दलका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोप्रति समेत लक्षित थियो । संसद् सम्बोधन गर्दै यादवले ओली सरकार आफै भ्रष्टाचार ढाकछोप गर्न लागेको अन्तर्राष्ट्रिय संस्थाहरुले पुष्टि गरेको भन्दै भ्रष्टाचारलाई संस्थागत गर्न ओलीलाई विश्वासको मत दिनुपर्ने ? भन्दै जङ्गिएका थिए ।

विश्व स्वास्थ्य संगठनले नेपालमाथि गम्भीर संकट आउने चेतावनी दिँदादिँदै कोरोना संक्रमण नियन्त्रणका कार्य गर्नुपर्नेमा प्रधानमन्त्री ओली आफै अयोध्याय स्थापना र रथयात्रामा लामबद्ध भएर लाग्दा मुलुक आज संकटमा पुगेको यादवले आरोप लगाए । ओलीको तीन वर्षे कार्यकालले मुलुक ‘समृद्ध नेपाल, सुखी नेपाली होइन, दरिद्र नेपाल, दुःखी नेपाली’ बन्न पुगेको भन्दै उनले ओलीको असफलता बारे व्याख्या गरेका थिए । संसदीय मूल्य, मान्यतालाई होइन, अध्यादेशबाट मुलुक चलाउने ओलीको परिपाटीले सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्म निरपेक्षता आदि धरापमा पर्दै गएको आरोप लगाउँदै यादवले ओलीमाथि विश्वास नरहेको स्पष्ट पारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संघीयता, गणतन्त्र समाप्त गर्नेलाई मत किन दिने ?..." A few seconds ago

सम्बन्धित खवर