कविता; बेपत्ता – Satabdi News

कविता; बेपत्ता

मोहित जोशी

बाको कोठा असरल्ल छ।

टेबुलमा आधा खाली आधा भरिएको चियाको गिलास छ।
गिलास छेउमा छ एउटा पुस्तक
जसको आवरणमा माओं र मार्क्सको तस्वीर छ।
भुइँमा कच्याङ-कुचुङ पारिएको एउटा पाना छ
खोले र पढे बाले लेख्दै गरेको एउटा कविता।

बा निरङ्कुशता विरोधी क्रान्तिकारी कवि भनेर पनि चिनिनुहुन्छ।

खाटमा सिरक पट्याएको छैन।
सिरानी मुनि च्यापिएको छ ‘नेपालको संविधान २०७२’।
संविधानको धारा २०, २१, २२ र २३* सिरानीले छोपिएको छैन।

बालाई संविधानका धाराहरू पनि कण्ठस्त छन् ।

दराज खुल्ला छ ।
दराज भित्र सामानहरू खलबलिएका छन् ।
जस-कसैले अनुमान लगाउन सक्छ,
हतार हतार केही खोजिएको हो दराज भित्र ।

बाको पर्सनल डायरी भुइँमा खसेको छ।

टिभीमा समाचारको समय भएको छ
समाचारमा बजिरहेछ मान्छे हराएको सूचना।
र, यतिबेला
प्रहरीको फोन व्यस्त छ।

बा बेपत्ता हुनुहुन्छ।

संविधानको धाराहरू
२०: न्याय सम्बन्धी हक; २१: अपराध पीडितको हक
२२: यातना विरुद्धको हक; २३: निवारक नजरबन्द विरुद्धको हक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता; बेपत्ता" A few seconds ago

सम्बन्धित खवर