दक्षिण कोरियामा फाइभ जी इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ४० लाख पुग्‍यो – Satabdi News

दक्षिण कोरियामा फाइभ जी इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ४० लाख पुग्‍यो

२२ वैशाख, काठमाडौँ । व्यवसायिक रूपमा फाइभ जी इन्टरनेटको सुरुवात गर्ने विश्वको पहिलो देश दक्षिण कोरियामा यसका प्रयोगकर्ताको संख्या झण्डै डेढ करोड पुगेको छ । दुई वर्ष अगाडि सुरु भएको फाइभ जी नेटवर्कका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख नाघेको तथ्यांकले देखाएको छ ।

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मार्चको अन्त्य सम्ममा मुलुकमा फाइभ जी प्रयोगकर्ताको संख्या १ करोड ४४ लाख ८० हजार पुगेको हो । जुन दक्षिण कोरियाको कूल मोबाइल प्रयोगकर्ताको २० प्रतिशत हो । दक्षिण कोरियामा मोबाइल प्रयोगकर्ताको संख्या ७ करोड ११ लाख छ ।

सबैभन्दा अत्याधुनिक इन्टरनेट नेटवर्क फाइभ जी लाई व्यवसायिक रुपमा सुरुवात गर्ने पहिलो मुलुक दक्षिण कोरियाले सन् २०१९ को अप्रिल महिना देखि फाइभ जी सेवा सुरु गरेको थियो ।

दक्षिण कोरियाका प्रमुख मोबाइल फोन सेवा प्रदायकहरुले फाइभ जी सेवा उपलब्ध गराएका छन् । प्रमुख मोबाइल सेवा प्रदायक एसके टेलिकमका फाइभ जी प्रयोगकर्ताको संख्या सबैभन्दा धेरै अर्थात् ६७ लाख ४० हजार छ । त्यस्तै अर्को मोबाइल सेवा प्रदायक के टी कर्पका फाइभ जी सब्सक्राइबर्र्सको संख्या ४४ लाख तथा एलजी युप्लस कर्पका फाइभ जी सब्सक्राइबरको संख्या ३३ लाख ३० हजार छ ।

दक्षिण कोरियामा फाइभ जी प्रयोगकर्ताको संख्या बढिरहँदा फोर जी इन्टरनेट प्रयोगकर्ताको संख्या भने निरन्तर ओरालो लागेको छ । गत महिनाको तथ्यांक अनुसार दक्षिण कोरियामा फोर जी इन्टरनेट प्रयोगकर्ताको संख्या ५ करोड ११ लाख ८० हजार छ । जुन त्यसको अघिल्लो महिनाको तुलनामा अढाई लाखले कम हो ।

यद्यपि दक्षिण कोरियाका कूल मोबाइल इन्टरनेट प्रयोगकर्तामध्ये ७२ प्रतिशतले अझैपनि फोरजी नै प्रयोग गर्ने गरेका छन् । सामसुंगले केही महिना अगाडि बजारमा ल्याएको ग्यालेक्सी एस २१ सिरिजका कारण फाइभ जी प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दक्षिण कोरियामा फाइभ जी इन्टरनेट प्रयोगकर्ताको ..." A few seconds ago

सम्बन्धित खवर