मोरङको एक सिनेमा हलमा सुटुक्क कोरोनाको खोप लगाउने उद्योगी व्यवसायीहरु भागाभाग – Satabdi News

मोरङको एक सिनेमा हलमा सुटुक्क कोरोनाको खोप लगाउने उद्योगी व्यवसायीहरु भागाभाग

१५ जेठ २०७८, शनिबार । विराटनगर महानगरपालिका -२ तिनपैनी चोकमा रहेको सिटी सिनेमा हलभित्र सुटुक्क भेला गरेर उद्योगी व्यवसायीलाई कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाइँदै रहेको पाइएको छ।

शुक्रबार झमझम पानी परिरहे पनि विराटनगर महानगरपालिका– २ तिनपैनी चोकमा रहेको सिटी सिनेमा हल आसपासमा निषेधाज्ञाका वेला निजी सवारीसाधनको लाम र स्थानिय उद्योगी व्यवसायीहरुको भिड देखे पछि स्थानीयबासिहरु भेला भएर सोधपुछ गरेका थिए।

महामारीका वेला उद्योगी व्यापारीलाई मात्र खोप लगाइएको थाहा पाएपछि स्थानीय पनि हलभित्र  पसे र अवरोध गर्न थाले । स्थानीय जागेपछि खोप लगाइदिन बसेकादेखि खोप लगाउन आएकासमेतको भागाभाग भयो ।

स्थानीयको अवरोधपछि मात्र प्रहरीले पनि थाहा पाएको थियो । प्रहरी टोली त्यहाँ पुग्दा स्थानीय आफूहरूले पनि खोप लगाउन पाउनुपर्ने भन्दै आक्रोशित थिए । अप्रिय घटना हुन नदिन प्रहरीले स्थानीयलाई सम्झाए भने हलभित्र बाँकी रहेका स्वास्थ्यकर्मी र उद्योगीलाई सुरक्षित घर पठाए ।

सार्वजनिक सूचना नै जारी नगरी शुक्रबार प्रदेश १ सरकारले एक सय उद्योगीका लागि कोभिसिल्डको दोस्रो डोज उपलब्ध गराएको थियो । खोप लगाइदिन सामाजिक विकास मन्त्रालयको पिकअप भ्यानमा स्वास्थ्यकर्मी कर्मचारी आएका थिए । स्थानीयका अनुसार सिनेमा हलमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसहित धनाढ्य उद्योगी–व्यापारी भेला भएका थिए । स्थानीयको अवरोधपछि प्रायः सबै जवाफदेही सरोकारवालाहरूको मोबाइल स्विच अफ गरिएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बन्द सिनेमा हलभित्र खोप लगाउँदै गरेकोबारे आफूहरूले पछि मात्र थाहा पाएको बताए ।

सामाजिक विकासमन्त्री उषाकला राईका प्रमुख स्वकीय सचिव वीरेन्द्र मगरले पारदर्शी रूपमा खोप लगाउन स्वाथ्य कार्यालयलाई निर्देशन दिइएको, तर शुक्रबारको खोप कार्यक्रमबारे मन्त्रीलाई समेत कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘८० फाइलजति खोप आएको थियो । सो खोप पारदर्शी रूपमा लगाउनू भनेर मन्त्रीज्यूले स्वास्थ्य कार्यालयलाई निर्देशन दिनुभएको थियो,’ स्वकीय सचिव मगरले भने, ‘किन अपारदर्शी गरियो थाहा भएन ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले घटनापछि मोबाइल सम्पर्कविहीन बनाएका छन् । महानगरपालिकाले पनि खोप लगाउने कार्य आफूहरूको नभएको भन्दै जिम्मा लिन नसक्ने जनाएको छ । उद्योग संगठन र मोरङ व्यापार संघका प्रतिनिधिले पनि खोप लगाउनेबारे आफूहरूलाई थाहा नभएको बताएका छन् ।

खोप कार्यक्रम चलिरहँदा प्रदेश १ सरकारका पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे पनि पुगेका थिए । ‘कामविशेषले सो बाटो हुँदै जाँदै गर्दा त्यहाँ दर्जनौँ गाडी देखेपछि बुझ्दा सिनेमा हलभित्र खोप कार्यक्रम चलिरहेको रहेछ,’ उनले भने, ‘यस्तो अपारदर्शी काम गर्न नहुने थियो । कसको निर्देशनमा कुन निकायले गरेको हो, त्यस्तालाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङको एक सिनेमा हलमा सुटुक्क कोरोनाको खोप लगाउ..." A few seconds ago

सम्बन्धित खवर