कविता; तिम्रो जातिवाद र मेरो मानसिकता – Satabdi News

कविता; तिम्रो जातिवाद र मेरो मानसिकता

विश्वकर्मा देव

तिम्रो जातिवादी संस्कारले
थिचिएको मानसिकता लिएर
बाचिरहेको छु म ।

भट्टीमा चिया पिउँदै गर्दा
मेरो जात सोधिन्छ कि,
त्रसित छु म ।
साथी, संगी, सहेलीहरुले गफ गर्दा
मेरै ‘जात’को खिल्ली उडाउछन् कि,
भयवित छु म ।
-तिम्रो जातिवादी घृणाको
तरवारमुनि बाचिरहेको छु म ।

बाटामा जनै बाँध्दै हिड्ने
पण्डितले जनै लाउदा लाउदै,
बाबु तिमी कस्का छोरा हौं ?
सोध्छन् कि कतै,
त्राहिमान छु म ।
मन्दिरमा पुजा गर्न चाहादा
तिमिले पुजा गर्न मिल्दैन
भनिन्छ कि, शंकामा छु म ।
-तिम्रो उचता र निचताको
मानसिकताको अचानो बनेर
बाचिरहेको छु म ।

कसैको आतिथ्यतामा उसको
घर भित्र पस्दा, ढोकै नेर
यि खुत्ता आफै भारी हुन्छन् ।
कसैलाई आफ्नो परिचय पत्र
देखाउदा पनि यो मन
अप्ठ्यारो मान्छ ।

-तिम्रो अपमान र तिरस्कारको
रापमा जलेर बाचिरहेको छु म ।
यात्रामा कतै अपरिचित कसैले
परिचय माग्छ कि,
लाटो भएर बस्छु म ।
मेरो कला, सिर्जना माथि
जातिबादी व्याख्या गरिन्छ कि,
अज्ञानी भएर बस्छु म ।
-याँहा ‘एक्सपोजर’को कुरा हुन्छ,-
-तिम्रो जातिवादी सौन्दर्यशास्त्रको
भुमरी भित्र थिचिएर
बाचिरहेको छु म ।

तिमि पनि त यो मान्दो हौ,
-प्रेम स्वभाविक मनको भाव हो,
खुसी सबैको खोजी हो ।
-तिम्रो जातिय अहम् र आडम्बर भित्र
प्रेम र खुसीलाई मारेर
बाचिरहेको छु म ।

(केवल) सोच्दा हुन् (मात्र) कोही-
समय फेरिएको छ, न्याय छ, कानुन छ,
स्वातन्त्रता र समानताको व्यावस्था छ ।
किन डराएर बाच्ने ?
मलाई कार्य र कारण संग होइन,
परिणाम संग डर छ,
-मैले सेते दमाई, सम्भु सदा, अजित मिजार,
माया सार्की, मनबिरे सुनार र
नवराज बि.क.हरुको अपमान र
मृत्यु देखेको छु,
पासविक हत्या देखेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता; तिम्रो जातिवाद र मेरो मानसिकता" A few seconds ago

सम्बन्धित खवर