बादललाई दोहोरो झट्का: राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पराजित , गृहमन्त्रीबाट पदमुक्त – Satabdi News

बादललाई दोहोरो झट्का: राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पराजित , गृहमन्त्रीबाट पदमुक्त

६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई बिहीबार दोहोरो झट्का लागेको छ ।सर्वोच्च अदालतको आदेशमा गृहमन्त्रीबाट पदमुक्त भएको दुई घण्टापछि राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उनी पराजित भए । बादललाई एमालेकै माधवकुमार नेपाल समूहका उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् ।

देवकोटाले ५०८८ र बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि समर्थन जनाएको थियो । बादललाई भने एमालेका अध्यक्ष केपी शर्मा ओली समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान गरेका थिए ।

राष्ट्रियसभा निर्वाचनको परिणाम आउनु (साँझ ५ः२२ बजे) भन्दा ठीक दुई घण्टा अगाडि सर्वोच्च अदालतले बादललाई गृहमन्त्रीका रुपमा काम नगराउने अन्तरिम आदेश दिएको थियो । यदि, उपनिर्वाचनमा उनले जितेका थिए भने फेरि गृहमन्त्रीमै बहाली हुने बाटो खुल्ने थियो ।

राष्ट्रियसभा सदस्यमा पराजय र गृहमन्त्रीबाट पदमुक्त भएका बादलको हैसियत अब एमाले नेता मात्रै रहेको छ ।

बादलले राजनीतिक जीवनको गौरवसँग जोडिएको माओवादी पार्टी, राष्ट्रियसभा सदस्य पद र गृहमन्त्री गुमाएका छन् । जबकि माओवादी उम्मेदवारका रुपमा १४ माघ २०७४ मा वागमती प्रदेशबाट ३३९६ मत सहित बादल सहजै निर्वाचित भएका थिए । यसको एक महिनामै माओवादी केन्द्रको नेतृत्व गर्दै (१५ फागुन २०७४ मा) बादल गृहमन्त्री बने ।

बादल माओवादी केन्द्रका शीर्ष नेता भएकैले पार्टीको नेतृत्व गर्दै सरकारमा जाने अवसर पाएका थिए । हुन पनि उनी ६ जेठ २०७३ मा मात्रै नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् । २०३७ देखि भूमिगत राजनीतिमा होमिएका र दशवर्षे माओवादी युद्धका एक योजनाकार मानिने बादल २०६९ पछि पुष्पकमल दाहाल प्रचण्डसँग अलग भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बादललाई दोहोरो झट्का: राष्ट्रियसभा सदस्यको उपनि..." A few seconds ago

सम्बन्धित खवर