अन्वेश थुलुङ
बाडुल्कीः
आफैँमा हामी आफ्नै उद्देश्को बोझ लिएर
हिँडिरहन्छौँ
र कहिलेकाँही कुनै साँझ हामी बिर्सिदिन्छौँ
सम्झँदा सम्झँदै पनि बिर्सिदिन्छौँ
……………………………
केही समय
आजकल लाग्छ
कहिलेकाँहि आफैँलाई भेटिन
हराउन पनि आवश्यक छ
महशुष गर्न आफैँलाई
छोइन पनि आवश्यक छ
अपुरा हुनु अपुरा हुनु मात्र होइन
अपुरा हुनु पुरा नहुनु पनि होइन
……………………………….
जस्तरी सम्झनुले बिर्सनुसँग सम्बन्ध राख्दैन कहिलेकाँही
यस्तरी नै
……………………………………………..
यो कथा बिर्सिएकै कुनै दिनको कथा थियो
सम्झनाः
नसकिएका यात्रामाझ
ओसिलो थकाईबाट सुरु गर्दै गर्दा
जहाँ भेटियौँ त्यहाँ केहि विशेष थिएन
हामी एक जोर नयनहरुमा भेटेका थियौँ पहिलोपटक
केहि थान मुस्कानहरुसँगै
केहि असहज बातचितसँगै
नजर जुधेको बेला जब उनका नजर कतै लुकिदिन्थे
कतै भागिदिन्थे
सोचेको थिएँ पहिलोपटक त्यसैदिन
अपरिचित पहाडहरुले पनि त फुलहरु लुकाएका हुन्छन्
बाटाहरु लुकाएका हुन्छन्
र त्यसैदिन
चट्टानका पहराहरुमा कोरिएका
एक धर्को बाटोजस्तै
म आफ्नै मुटुका तरंगहरुमा हिँडिरहेको थिएँ
एक धर्को धड्कनको यात्रासँगै
जे सोचुँ पर्याप्त थिएन
जे सोधुँ सन्तुष्टि थिएन
यी समयको खण्डहरु आफैँमा पुरा थिएनन्
जे थियो त्यो समय सन्तोषजनक थिएन
आफैँमा म यात्री एउटा
समयको दरिद्रता महशुष गर्न सक्थेँ
आफ्नै दासत्व महशुष गर्न सक्थेँ
समयको तट समिप
त्यो रात मनको झोलुङ्गेबाट हेरिरहेँ आफ्नै बगिरहेको जिन्दगीलाई
देख्छु आएको किनारा जस्तै
पुग्नुपर्ने किनारा पनि देखिन्न
यद्यपी अक्करमाझ फुलेको छ फुल
………………
एक दोधारे मन
कुनै नबग्ने समयमा फँस्न चाहन्छ
कुनै नबित्ने रातहरुमा फँस्न चाहन्छ
जहाँ निर्णयहरु नगर्ने वातावरण होस्
जहाँ यात्रा सुरुवात हुने बिहानी नहोस्
बस अड्किनुपर्ने बहाना होस्
सोच्छु
कहिलेकाँही बतास आफ्नो परिवेश बदल्छ
अनि त्यसैले बदलिन्छन् वर्षाको वर्षौकोँ तालिका पनि
यसमा बादलको के दोष ?
बतास समय न हो
बादल यात्री न हो
वर्षा प्रसंग न हो ।
मुस्कानमा दुइ कुनाजस्तै उभिएका पहाड
ननाघेको दिनबाट
म त्यहि पहाडहरु माझ नदिजस्तै बगिरहेछु
र हिँडिरहेछु वर्षौँदेखि
परदेशी बादलजस्तै सुदुरमा एक इन्द्रेणीको बाचा बाँधेर ।