रामेछाप — रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा न्यौपाने (दाहाल) र वडा अध्यक्ष सुवास बोहोरालाई जबरजस्ती चन्दा असुली मुद्दामा काठमाडौं जिल्ला अदालतले एक/एक वर्ष कैद र जनही १० हजार जरिवाना हुने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो । दाहाल र बोहोरालाई गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई धम्काई जबरजस्ती चन्दा माग गरेको र भनेजति चन्दा नदिए मार्नेसम्मको धम्की दिने कार्यमा सहयोगीको भूमिका निभाएको अभियोग लगाउँदै खड्काले जाहेरी दर्ता गराएका थिए । अदालतले प्रारम्भिक सुनुवाइको क्रममा दुवैलाई जनही ६ लाख ५० हजार धरौटी लिएर तारेखमा छाडेको थियो ।
उक्त मुद्दाको मुख्य अभियुक्त मिलन भन्ने लोप्साङ तामाङलाई अदालतले ६ वर्ष कैद र ६० हजार जरिवाना र अर्का अभियुक्त अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला पौडेलको इजलासले सुनाएको छ । लोप्साङ र अमृत तामाङलाई झण्डै डेढ वर्षअघि प्रहरीले पक्राउ गर्ने क्रममा भाग्न लागेपछि गोली हानेर नियन्त्रणमा लिएको थियो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच भएको फौजदारी मुद्दाका कारण लिखु तामाकोशी गाउँपालिकाको २ आर्थिक वर्षदेखि विकास निर्माण र सामाजिक कार्य प्रभावित हुँदै आएका छन् । अध्यक्ष खड्का, उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।