खनाल–नेपालसहित १५ नेताको अपिल– एमालेमा रहन नदिन अनेक दाउपेच गरिए – Satabdi News

खनाल–नेपालसहित १५ नेताको अपिल– एमालेमा रहन नदिन अनेक दाउपेच गरिए

९ बैशाख २०७८, बिहीबार।  एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपालसहित १५ नेताले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको दाबी गरेका छन् । खनाल–नेपालसहित नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालले कम्युनिस्ट आन्दोलनको रक्षा र विकासमा आ–आफ्नो ठाउँबाट प्रयास गर्न बिहीबार अपिल गरेका हुन् । 

अपिलमा भनिएको छ, ‘हामीलाई नेकपा (एमाले)मा रहन नदिन अनेक दाउपेचहरू गरिएका छन् । २८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ । तर, हामी पार्टी एकता जोगाउन चाहन्छौँ । त्यसैले हामीले ‘नेकपा (एमाले)को एकतालाई बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छौँ । त्यसका निम्ति फागुन २८ र तत्पश्चात् भएका कथित बैठक र तिनका अवैध निर्णय सवै रद्द गरिनुपर्छ र ०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्दछ । यदि त्यसो भयो भने नेकपा (एमाले)को एकता जोगिन्छ । एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ । यही अठोटका साथ ७२ वर्षको मिहिनेतले निर्माण भएको कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरौँ । पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिस्ट पार्टीका आमनेता तथा कार्यकर्ता र समर्थक, शुभचिन्तक सबैमा हामी यही हार्दिक अपिल गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खनाल–नेपालसहित १५ नेताको अपिल– एमालेमा रहन नदिन..." A few seconds ago

सम्बन्धित खवर