नयाँ सरकार गठनको पहल गर्न नेपाली कांग्रेसले बोलायो बैठक, जसपा र मावोबादी केन्द्र बैठक मा सहभागी हुदै – Satabdi News

नयाँ सरकार गठनको पहल गर्न नेपाली कांग्रेसले बोलायो बैठक, जसपा र मावोबादी केन्द्र बैठक मा सहभागी हुदै

 २७ चैत, काठमाडौं । नयाँ सरकार गठनको पहल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजे माओवादी केन्द्र र जनता समाजवादी (जसपा) पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।

२० चैतमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार गठनका लागि पहल गर्ने निर्णय गरे बमोजिम नयाँ सत्ता समीकरणबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।

आजको बैठकमा देउवा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सम्बन्धमा पार्टीले लिएको निर्णय औपचारिक रुपमा जानकारी गराई माओवादी केन्द्र र जसपाको औपचारिक धारणा माग्ने तयारीमा छन् ।

नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले वैकल्पिक सरकार गठनका लागि अधिकत्तम सहमति जुटाउनको लागि माओवादी केन्द्र र जसपासँग छलफल गर्न थालिएको बताए ।

जसपाका नेता राजकिशोर यादवले बैठकको आयोजना गर्ने कांग्रेसले के प्रस्ताव ल्याउँछ, त्यो सुनेर आफ्नो पार्टीको धारणा राख्ने बताए । उनले भने, ‘अहिले नै के कुरा राख्ने भन्ने होइन, उहाँहरुको कुरा सुनेर आफ्नो धारणा राख्छौं । हामी यस्ता बैठक र छलफलमा सक्रियतापूर्वक सहभागी हुन्छौं ।’

माओवादी चाहिँ ओली सरकार र नयाँ सरकार गठनका सम्बन्धमा नेपाली कांग्रेस र जसपाको आधिकारिक धारणा बुझ्ने र सोही अनुसार भावी रणनीति बनाउने योजनामा छ ।

नयाँ सरकार गठनको पहल गर्ने निर्णयपछि सत्ता समीकरणमा केन्द्रित रहेर प्रमुख प्रतिपक्षी कांग्रेसले संयुक्त बैठक बोलाएको यो पहिलो पटक हो । यो बैठकबाट तीन दलको बीचमा वार्ता टोली बनाउनेबारे निर्णय हुन सक्ने एक नेताले बताए ।

कांग्रेसले सरकार बनाउन पहल गर्ने निर्णय गरेलगत्तै पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका नेता महन्थ ठाकुरसँग एकसरो कुराकानी गरे पनि त्यसपछि वार्ता अगाडि बढ्न सकेको थिएन । पौडेलले देउवा आफैंले जसपाका नेताहरुसँग कुराकानी गरेमा सरकार निर्माणमा सहमति जुट्ने बताएका थिए । कांग्रेसको निर्णयपछि माओवादी केन्द्र र जसपा देउवाको पहलको पक्षमा थिए ।

निर्णायक शक्ति जसपाले अझै पनि सरकार गठनका सम्बन्धमा निर्णय नलिइसकेका कारण तत्कालै नयाँ समीकरण बन्ने सम्भावना भने कम छ । किनभने नयाँ सरकार गठनका विषयमा जसपामा स्पष्ट दुई धार देखिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको तत्कालै विकल्प खोज्नुपर्ने पक्षमा छ भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीसँग निरन्तर सम्वादमा छन् ।

कांग्रेसका नेताहरु नयाँ सरकार गठनको बल जसपाकै कोर्टमा रहेको बताउँछन् । केही दिन अगाडि  कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनाउने विषय जसपामा निर्भर रहको बताएका थिए । उनले भनेका छन्, ‘हुन त माओवादी केन्द्रले पनि सरकारको समर्थन फिर्ता लिएको छैन । उहाँहरुले प्राविधिक कारण देखाउनु भएको छ । त्यसो हो भने माओवादी केन्द्रमा समस्या नहोला तर जसपामा अन्योल नै छ ।’

जसपाका नेताहरुले भने सरकार बनाउन चाहने पार्टीले आफ्ना मागहरु पूरा गर्ने स्पष्ट रोडम्याप ल्याउनुपर्ने बताइरहेका छन् । तर, सरकार गठनमा अग्रसर कांग्रेस तत्कालै त्यसका लागि तयार देखिदैन, न त यस विषयमा उसले पार्टीमा औपचारिक छलफल नै गरेको छ । कांग्रेस नेताहरु संविधान संशोधन लगायत जसपाका मागहरुको सम्बन्धमा सकारात्मक रहे पनि टीकापुर काण्डका मुख्य अभियुक्त ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरीको रिहाइको माग निर्वाचन अगाडि पूरा गर्न नसकिने बताउँछन् ।

सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयपछि जसपाका नेताहरुले फरक–फरक अभिव्यक्ति दिइरहेका छन् । जसपाका नेता महन्थ ठाकुरले त आफूहरुसँग परामर्श नगरी कांग्रेसले एकलौटी निर्णय लिएको समेत बताएका छन् । यति मात्र होइन, जसपाका नेताहरुले आगामी सरकारको नेतृत्वमा आफूहरुको स्वाभाविक दावी भएको समेत बताउन थालेका छन् तर यस सम्बन्धमा पार्टीले कुनै औपचारिक निर्णय भने गरेको छैन ।

जसपाको आन्तरिक अवस्था अन्योल बन्दै गएको छ । ओली सरकारलाई पार्टीका केही नेताले समर्थन गरेमा पार्टी फुटको तहसम्म पुग्न सक्ने एकथरी नेताहरुको भनाइ छ भने अर्काेथरी नेताहरु ओलीले आफ्ना मागहरु पूरा गर्ने प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

यति मात्र होइन, जसपाका केही नेताले प्रधानमन्त्री ओलीसँग गरेको वार्तालाई समग्र पार्टीले अपनत्व समेत लिएको छैन । नेताहरुको विवादका कारण जसपाको पार्टीको बैठक समेत बस्न सकेको छैन ।

गत पाँच गतेका लागि सो दलको कार्यकारिणीको बैठक बोलाइएको थियो तर एक राजनीतिक प्रतिवेदनमा उत्पन्न विवादका कारण बैठक बस्न सकेन ।

महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु आफ्ना मागहरु पूरा भएमा ओली सरकारलाई नै समर्थन गर्न सकिने बताएका छन् ।

जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु प्रधानमन्त्री ओलीसँग रेशम चौधरीको रिहाइ लगायतका अन्य नेता रिहाइको बारेमा वार्तामा रहेका कारण पनि जसपाले अहिले कुनै पनि निर्णय गर्न सकेको छैन ।

विहीबार मात्रै जसपाले विभिन्न मुद्दा लागेका २०० सयभन्दा बढी नेता र कार्यकर्ताको नामावली गृहमन्त्रालयलाई बुझाएको छ । केही मुद्दा फिर्ताको लागि प्रक्रिया पनि शुरु भएको छ । त्यसैले जसपाका नेताहरु ओलीसँगको वार्ताको परिणाम केही समय कुर्ने पक्षमा छन्, त्यसैले जसपाले सरकारका सम्बन्धमा तत्काल कुनै निर्णय नगर्न सक्छ ।

संसदमा ३२ सिट भएको जसपा एकताबद्ध भएर कांग्रेसलाई समर्थन गर्ने निर्णय नगरेसम्म वैकल्पिक सरकार बन्नसक्ने अवस्था देखिँदैन ।

विहीबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै जसपा नेता वृषेशचन्द्र लालले आफूहरुले उठाएका मागहरु सम्बोधन भएपछि मात्र सरकार निर्माण विषयमा कुराकानी हुने बताए । उनले भने, ‘हाम्रो एजेण्डा स्पष्ट छ, हामी सरकार परिवर्तन गर्ने वा नयाँ सरकार बनाउने भन्ने होइन, हाम्रो मुद्दा सम्बोधन हुनुपर्छ ।’ उनले माग पूरा गर्नका लागि सरकारसँग वार्ता गर्नुपर्ने र सरकारसँग वार्ता गरिरहेका वार्ताकारहरु उत्साहित रहेको पनि बताए ।

उता माओवादीले भने वैकल्पिक सरकार बन्ने अवस्था सिर्जना भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ । उसले सरकारको नेतृत्व दावी गरेको छैन । यस अगाडि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक देउवालाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नयाँ सरकार गठनको पहल गर्न नेपाली कांग्रेसले बो..." A few seconds ago

सम्बन्धित खवर