सूचनाको हकको दुरुपयोगलाई रोक्‍नुपर्छ: सञ्चारमन्त्री गुरुङ – Satabdi News

सूचनाको हकको दुरुपयोगलाई रोक्‍नुपर्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सूचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सूचनाको हकको प्रयोग गरिएकाले दुरुपयोगलाई रोक्नुपर्ने बताएका हुन् ।

सूचनाका हकका अभियन्ताहरुले नै सूचना लुकाउने गर्नाले समाजमा सूचना प्रवाह हुन नसकेको पनि उनको भनाइ छ । सूचनाको हकको प्रयोगको नाममा समाजमा विकृति, बिसंगति तथा अराजकता ल्याउने र ठगी गर्ने गरिएको भन्दै यस्तो परिस्थितिको अन्तय गरिनुपर्ने उनले बताए ।

उनले भने, ‘जो सूचनाको हकको अभियन्ता हुन्छन् । उसले नै सूचना लुकाइरहने काम अब नहोस् । देख्दा अभियन्ता देखिने जसले अत्यन्तै परिवर्तन र अधिकारमुखी कुरो गर्ने तर ऊ आफैँले त्यो अधिकार र व्यवहारमा नदेखाउने,जसले गर्दा हाम्रो समाज अझै पछि पर्नुपरेको छ ।’

समाजले ती सूचनाहरु प्राप्त गर्न नसकेको भन्‍दै उनले त्यस्तो परिस्थितिबाट समाजलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘सही नियतबाट होइन, गलत नियतबाट मात्रै सूचनाको हक प्रयोग गरिरहेको हामीले देखिरहेका हुन्छौँ । केही व्यक्तिहरु खाली सूचनाको हक प्रयोग गरेर कसलाई मुद्दा हाल्नको निम्ति मात्रै त्यसको खेति एउटा पंक्ति म त्यस्तो पनि देख्छु । उसको काम नै सूचनाको हक प्रयोग गर्ने अनि कसको निम्ति मुद्दा हाल्ने भनेर मात्रै हिडि रह्‍ने हुन्छ। अनि उसलाई मुद्दा हाल्ने, बार्गेनिङ गर्ने। सूचना प्राप्त गरेपछि बार्गेनिङ गर्ने र लेनदेनको कुरा गरेर एकथरीको त्यस्तो खेती गर्ने ।’

सूचना खेतीको व्यवसायमा लागेका व्यक्तिहरुको पहिचान गरेर यस्ता विचौलियाहरुलाई पनि व्यवस्थापन गर्नु पर्ने बताए । उनले भने, ‘समाजमा जहिल्यै विकृति ल्याउने, बिसंगति ल्याउने, समाजमा अराजकता ल्याउने अनि ठगी गर्ने । सूचनाको दुरुपयोग गरेर व्यक्तिहरुलाई आर्थिक लेनदेनको बार्गेनिङ गर्ने यो परिस्थितिको हामीले अन्त्य गर्नुपर्छ ।’

मन्त्री गुरुङले सञ्चारकर्मीहरुले पनि सकारात्मक सूचना दिनेभन्दापनि समाजलाई अप्रिय घटना घटाउने खालका सूचना दिने र व्यक्तिको सूचनालाई मानव अधिकारविपरित प्रयोग गर्ने गरेकाले त्यसलाई पनि अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘कतिपय सञ्चारकर्मीहरुको पनि त्यही पेशाहरु हामी देखिरहेका छौँ । सञ्चारकर्मीहरुले पनि असल सूचना दिने, सकारात्मक सूचना दिने, समाजलाई रुपान्तर गर्ने काममा होइन । समाजलाई त्रसित बनाउने, समाजलाई अप्रिय घटना घटाउनको निम्ति सूचना दिने र कोही व्यक्तिको सूचनालाई, सूचनाको हकलाई पनि मानव अधिकार बिरोधीको रुपमा पनि प्रयोगहरु भएको छ। यस्तो कुरालाई कसरी अन्त्य गर्ने ? यो कुरोप्रति हामीले राष्ट्रिय सूचना आयोग सचेत रहोस्,जिम्मेवार रहोस्, अत्यन्तै पारदर्शी बनाओस् । समाजलाई उत्तरदायी, जवाफदेही बनाउने । ‘

मन्त्री गुरुङले सूचनाको हकको गलत प्रयोगप्रति राष्ट्रिय सूचना आयोग सचेत रहनुपर्ने बताए । समाजलाई उत्तरदायी, जवाफदेही र जिम्मेवार बनाउन आयोगको भूमिका हुनुपर्ने उनको भनाइ छ ।

यस्तै सूचना आयोगका सचिव डा.मुकुन्द प्रसाद पौड्यालले सबैभन्दा धेरै स्थानीय तहमा सूचनाको हकको कार्यान्वयन  गराउनुपर्ने खाँचो रहेको बताए । उनले भने, ‘ स्थानीय तहमा सूचनाको हकको कार्यान्वयन नभएको उजुरी ५३ प्रतिशत उजुरी आएका छन् । अब सूचनाको हक त्यहाँ कार्यान्वयन गर्ने देखिन्छ । ‘

उनका अनुसार स्थानीय तहमा ५३ प्रतिशत, गैरसरकारी संस्थासँग सम्बन्धित २० प्रतिशत, शिक्षा, स्वास्थ्य खेलकुदसँग सम्बन्धित १० प्रतिशत, आर्थिक क्षेत्रसँग सम्‍बन्धित ७ प्रतिशत, सूचना तथा सञ्‍चारसँग सम्बन्धित ५ प्रतिशत तथा जग्गा जमीन र मालपोत, वन, कृषिसँग सम्बन्धित ४ प्रतिशत उजुरी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सूचनाको हकको दुरुपयोगलाई रोक्‍नुपर्छ: सञ्चारमन्..." A few seconds ago

सम्बन्धित खवर