प्रचण्ड–माधव समूहको निष्कर्ष : एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने – Satabdi News

प्रचण्ड–माधव समूहको निष्कर्ष : एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने

प्रचण्ड–माधव समूहले अब एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्षमा पुगेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

उनले पार्टीभित्र संघर्ष गरिने बताए । सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने पनि उनले बताए ।

‘अदालतले गरेको फैसला रिट निवेदकले मागदाबी गरेभन्दा बाहिर गएर गरिएको छ । यसमा हाम्रो असहमति छ । यो अनुपयुक्त, गलत छ । नेपाली कम्युनिस्ट आन्दोलनको आजसम्मको विकासक्रमको इतिहासविपरीत छ,’ नेता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँग भने ।

उनले अदालतले भनेअनुसार अब छुट्टाछुट्टै पार्टी भएर अघि बढने र एकताका लागि जे सम्भव छ, त्यो गर्ने निर्णय भएको बताए । ‘फैसलाअनुसार  जानैपर्छ, तर हामी न्यायिक पुनरावलोकनमा जान्छौँ,’ श्रेष्ठले भने ।

उनले राजनीतिक नैतिकताको कोणबाट पनि प्रधानमन्त्री केपी ओलीले अदालतको फैसलापछि राजीनामा दिनुपर्ने बताए । साथै आइतबारको फैसलापछि त्यो थप पेचिलो बनेको उनको भनाइ थियो ।

उनले अदालतको फैसलामा आफ्नो असहमति राख्न मिल्ने उनको धारणा यिथो । ‘अदालत भगवान् होइन । सबै निर्णय अचुक भन्ने मान्दैनौँ । सहमत हुन नसकेका विषयमा आफ्ना धारणा राख्छौँ,’ उनले भने ।

सर्वोच्च अदालतको आइतबारको फैसलामा थुप्रै अनिर्णीत, अस्पष्ट र व्यावहारिक जटिलताहरू रहेको उनले बताए । वामपन्थी एकताको पहललाई जारी राख्ने पनि उनले बताए ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई आइतबार ब्युँताइदिएको थियो । झन्डै तीन वर्षअघि दुई दलको एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर, यो नामको दल निर्वाचन आयोगमा पहिला नै दर्ता रहेको भन्दै आइतबार सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई २३ जेठ ०७५ मा निर्वाचन आयोगले दर्ता गरेको थियो । आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखेर गरिएको अर्को दल दर्ताको निर्णय बदर गर्न माग गर्दै नेता ऋषि कट्टेलले २१ मंसिर ०७५ मा निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

दुई वर्षपछि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले एमाले र माओवादी केन्द्र एकीकरणपूर्वकै अवस्थामा रहने फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रचण्ड–माधव समूहको निष्कर्ष : एमाले र माओवादी ..." A few seconds ago

सम्बन्धित खवर