विमन किराती
कठै! बिचारा सरकार !
साईरन बजाउदै कुदे पनि
संगिन सुसज्जित पहरेदारले घेरिए पनि
देसमा सब भन्दा डराई रहेको त ऊ नै छ ।
देसमा सब भन्दा लर्खराई रहेको त ऊ नै छ ।
हेर्दा सुकिलो मुकिलो भएर ठाटिए पनि
हिड्दा गज्जक परेर हिडे पनि
देसमा सब भन्दा बढि मैलो त सरकार नै देखिन्छ ।
देसमा सब भन्दा बढि गन्हाई रहेको त सरकार नै देखिन्छ ।
उस्लाई आफ्नै दरबारका भित्ताहरूले सुराकी गरिरहे झै लाग्छ ।
उस्लाई आफ्नै बिस्तारा र सोफाहरूले घोचि रहे झै लाग्छ ।
उस्लाई आफ्नै सुसारेहरूले हत्याको षड्यन्त्र बुनि रहेछन्,झै लाग्छ ।
हुदा हुदा यस्तो पनि लाग्छ ;
सपनामा उस्लाई सत्ता च्युत गर्न उस्कै काला कर्तुतहरू
मसाल बोकेर जुलुस गरिरहेछन् झै लाग्छ ।
बिचरा सरकार !बिल्लीबाठ बॉचेर पनि
बाघ हुँ भन्दै स्याल हूईईयाको हंकार गरि टोपल्छ।
सरकार ,सरकार जस्तो भएपो नडराउनु पनि
सरकारले,सरकार जस्तो गरेपो नआत्तीनु पनि
जब सरकार, सरकार नभएर दलाल भए पछि
जब सत्ता सासक मात्र नभएर शोषक भए पछि
जब गर्नैपर्ने काममा ब्यस्त नभएर अन्तै अभ्यस्त भए पछि
यस्तो हरिबिजोक र अस्तब्यस्त उ आफै भएको हो।
उस्ले आफ्नै बिगतहरू नबिर्सेको भए
उस्ले आफ्नै आधारहरू नभत्काएको भए
यती धेरै छलछाम यती धेरै धोकाधडी
यति धेरै नैटङ्की यती धेरै धपेडी
सायदै सहनु पर्थ्यो…सायदै गर्नु पर्थ्यो ।
बिचरा सरकार भित्र थर थर कामेर पनि
बाहिर बहादुर हूँ देखाउन मुखमा मुस्कान
ऑखामा नक्कली चम्कन
बॉधेर बाहाना हरूमा ताउर माउर गरिरहे छ।
नडुबेर स्वार्थेको फोहोरी आहालमा
नफसेर सत्तासिप्साको चालबाजीमा
केवल दायित्व बहन मात्रै गर्ने हो भने
सायद भाग्नु पर्दैन थियो,
बिचरा सरकारले आफ्नै छायॉसँग।
सुधारी दिए मात्रै सरकारले आफ्नो बेसोमती मती
सायद नसुध्रिने विकल्प रहन्न थियो कसैसगँ।
साना-साना सम्भावनाका गोरेटाहरू
बनाउदै अघि बढेको भए सरकार ।
साना-साना अविश्वासका खाडल
पुर्दै अघि बढेको भए सरकार।
जनतासँग हातेनालो गर्दै
हिड्न खोजेको भए सरकार।
यस्तो तन्नम तरीकाले
घडिको रॉलो हल्लीए जसरी
कहिले एताको ढोका
कहिले उताको चोटा
जी हजूरी गर्दै
निहूर मुन्टि न बनेर
सायदै मुन्टिनु पर्थियो अमुख माईकलाल सँग।
बिचरा सरकार….
आफै,आफैले खनेका खाडलहरूमा
डुब्दै डुब्दै ,भॉसिदै भॉसिदै गईरहेको बेला
के पुग्न सक्थ्यो,रत्नपार्कमा भोकले छटपटाई रहेका
श्रमजीवी श्रमिकहरूसँग अङ्कमाल गर्न।
के पुग्न सक्थ्यो ,माईतीघर मण्डलामा
आफ्नो श्रमको अर्मल माग्न धर्नारत उखु किसानको पक्षमा उभिन।
ऊ त यती बेला पुग्न सक्ने भनेको बालुटार=शितल निवास=खुमलटार =लैनचौर
या यस्तै यस्तै प्रभुका दरबार सम्म हो।
उस्लाई यती बेला पुग्नु पर्ने जरूरी त
शक्ति केन्द्रका खोपिहरू सम्म हो।
उस्लाई सुरक्षाको खतरा छ यतीबेला
बालुवाटार बाट सिंहदरबार सम्म त पुग्न नसकेको सरकार।
के पुग्न सक्थ्यो र झन गॉम वेँसीहरूका दु:खहरूमा मलम लगाउन
तपाई आन्दोलन हैन बरू खुट्टा टेकोस भनेर प्रार्थना गरिदिनुस यती बेला।
बिचरा सरकार हत्तुहैरान छ छिनाझपेटिमा
बिचरा सरकार हारगुहार गरि रहेछ भेन्टिलेटरमा
तपाई सरकार देखिन भनेर गुनासो गर्नु हुन्छ
बिचार सरकार नाङ्गै छ अप्रेशन थ्रियटरमा।।