उप प्राध्यापक प्रेम फियाक
“कस्तो आलु”
हो म आलु हुँ ।
जता पनि फल्ने
न कुनै सिमाना
न कुनै बन्धन ।
घुन्साको सिरेठो
जनकपुरको घाम
कालोमाटो,
रातो माटो,
फुर्सो माटो
तालुमा फल्ने
परीक्षाको रिजल्टमा
जताततै मलाई देखेर
रिसाएको हो ?
जे होस्,
म साच्चिकै आलु हुँ ।
वर्गको पर्खाल छैन
न कुनै बर्ण
न कुनै रंग
तारे होटेलमा फ्रेन्च फ्राई ।
झुपडीमा तिहुन ।
भुटुन हुँदा भुटेर
नहुँदा उसिनेर, अनि पोलेर ।
कहिले अचार
कहिले झोल
काला, गोरा, खैरा
नाक चुच्ने, नाक थेप्चे
चिम्सा आँखा, ठुला आँखा ।
सबै सँग मिलेको देखेर
निन्द्रा नलागेको हो?
जे होस्
म साच्चिकै आलु हुँ ।
तर बिचार गर्नु
‘आलु’ लाई दमन गर्यो भने ।
बोरामा कोच्यो भने ।
मुख थुनी दियौ भने ।
क्रान्ति गर्छ ।
शान्ति पूर्ण ।
भित्रभित्रै सहन्छ ।
अझै उसलाई चिनेनौ भने ।
आफै कुहिन्छ ।
अनि तिम्रा ‘आलु’हरु बिगार्छ ।
यही आलु पावर देखेर
जलन भाको हो ?
जे होस
म साच्चिकैको आलु हुँ ।