कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने – Satabdi News

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

कार्तिक २१, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा शिक्षामन्त्री पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री पोखरेलले विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन निर्देशन दिए । पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देशन दिएको उनको सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए ।

छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ । छलफलमा मन्त्रालयका सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मा सहभागी थिए । कोरोना भाइरस संक्रमणका कारण यस्तो निर्देशन दिइएको हो ।

बोर्डले विभिन्न विकल्पसहित अनलाइनबाट पनि परीक्षा लिन सक्ने गरी नेपाल सरकारलाई सिफारिश गरेको थियो । परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्तांकका लागि लिइने गरी तयारी भएको छ । विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्यांकन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण संकलन गरी परीक्षामा सामेल गराउन तयारी गरेको छ ।

बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड १९ संक्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिनेछ । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने" A few seconds ago

सम्बन्धित खवर