असोज २७, काठमाडौ । किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले आगमी २०७८ को १२ औं राष्ट्रिय जनगणनामा सही सूचना टिपाउनका लागि अपिलपत्र सार्बजनिक गरेको छ ।
अपिल पत्रमा जातिको महलमा-राई, धर्मको महलमा-किरात, पूर्खाको भाषाको महलमा-थरगत भाषा जस्तै वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बायुङ/बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तावा, दुङमाली, आठपहरिया, छिन्ताङ, छिलिङ, फाङदुवाली, मुगा/मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङखिम/लिङखिम, देवास मध्ये एक लेख्न अपिल गरेको छ ।
यसैगरी मातृभाषाको महलमा वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बायुङ/बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तावा, दुङमाली, आठपहरिया, छिन्ताङ, छिलिङ, फाङदुवाली, मुगा/मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङखिम/लिङखिम, देवास मध्ये एक लेख्न अपिल गरिएको छ । दोस्रो भाषाको महलमा नजिकको कुनै राईको भाषा वा किरातीको भाषा लेखाउन अपिलमा अनुरोध गरेको कुरा किरात राई यायोक्खाको उपमहासचिव हेमन्त राईले शताब्दी न्युजलाई बताए ।
कार्यक्रममा यायोक्खा मातहतका विभिन्न भातृ तथा भाषिक संगठनहरुको समन्वयमा गाउँगाउँमा जनगणना सम्बन्धी अभियान यथाशीघ्र चलाउने कुरा पत्रकार सम्मेलन मार्फत किरात राई यायोक्खा अध्यक्ष दिवस राईले बताए । कार्यक्रममा किरातहरुको पहिलो किरात राजा यलम्बरको तस्विर सार्वजनिक संगै जनगणनाको कार्यक्रम शुरु गरिएको थियो ।