गायक बन्ने सपना बोक्नेहरु मध्यको एउटा कथा(प्रेरक संघर्षका कथा)ः गायक सुनिल कटुवाल – Satabdi News

गायक बन्ने सपना बोक्नेहरु मध्यको एउटा कथा(प्रेरक संघर्षका कथा)ः गायक सुनिल कटुवाल

आधुनिक प्रविधीको जमानाका कारण अहिले नेपाली सङ्गीतको क्षेत्र पनि व्यापक र व्यवसायिक बनिरहेको छ । सङ्गीतमै आफुलाई व्यवसायीकरण गर्ने भविष्यको सपना बोकेर वर्षैपिच्छे हजारको संख्यामा किशोर युवाहरु काठमाण्डौँका सङ्गीत कलेज र पाठशालाहरुमा भर्ना भइरहेका हुन्छन ।

यस्तै सपना बोकेर २०६२ सालमा एसएलसी दिएर आफ्नो काकासंग काठमाण्डौँ छिरेका थिए महोत्तरी जिल्ला बर्दिबासका नवजवान सुनिल कटुवाल । चर्चित गीतहरु ताराबाजी लै लै, कपुरी क मेरो दिलैमा छ जस्ता गीतहरु गाएर राम्रै चर्चा कमाइसकेका सुनिल सामान्य कृषक परिवारमा हुर्केका हुर्केका थिए । गाँउकै लक्ष्मी नारायन मा.वि.मा विधालय शिक्षा पूरा गरेका सुनिलको बुबा आमाको सपना पनि छोराले एसएलसी पछि राम्रो पढेर जागिर खाइदियोस भन्ने नै थियो । तर सुनिल काठमाण्डौँ छिरेपछि बेलुकीको समयमा कलेज जाने र बिहान घरका मान्छेलाई कलेज जान्छु भनेर सङ्गीत सिक्न गुरु सन्तलाल गौतमसंग वहाँकै जमलमा रहेको एसियन हिमालयन म्युजिक पाठशाला जान्थे ।

सानै देखि गीत गाउन सौखिन रहेका उनले साथीहरुको अनुरोधमा २०६० सालमा गाउँमा हुने एउटा साँस्कृतिक कार्यक्रममा स्वरुपराज आचार्यको “धेरै माया दिँदा रैछन मुटु जोडेर जानेहरु“ बोलको गीत गाएका थिए । जीवनको पहिलो स्टेज प्रस्तुती दिएका उनलाई त्यसपछि विनोद श्रेष्ठ, ललित श्रेष्ठ, सुमन मगर जस्ता अग्रज साथीहरुले संगीतमै थप प्रगती गर्न प्रेरणा दिई नै रहे ।

त्यसपछि आफु संगीतमै केही गर्छु भनेर त्यसबेला अठोट लिएको कुरा आज पनि उनी सम्झन्छन । काठमाण्डौँको जीवन एउटा सामान्य गाँउले टिठोलाई संघर्ष गर्नुपर्दा कति सम्म गाह्रो छ भन्ने कुराको अनुभव उनमा राम्रै छ । आफ्ना कयौँ व्यक्तिगत रहरहरु अभावमा त्यसै रहरमै सिमित भएको, दिनहुँको कलेज, म्युजिक पाठशाल ओहोरदोहोर गाडी भाँडा र खाजा खाने पैसा नभएको पल उनी सम्झन्छन । एकदिन भोक लागेर लैनचौरको सडक छेउको एउटा होटलमा उनी चियाउँछन तर गोजीमा दस रुपैयाँ मात्र बोकेका उनी साहुजीलाई मःमको दाम सोध्छन । साहुजीले प्रतिप्लेट २० भनेपछि हाफ अडर गर्दा हाफ नबेच्ने भनेर साहुजीले जवाफ दिन्छन र उनी त्यसै फर्कन्छन यो पल उनको स्मृतीमा आज पनि ताजै छन ।

गीत रेकर्ड र अष्ट्रेलिया बसाइः
उनले हालसम्म दुई दर्जन भन्दा बढी गीतमा स्वर भरीसकेका छन । त्यसमध्येमा ताराबाजी लै लै,कपुरी क मेरो दिलैमा छ जस्ता अरु केही गीतहरुले युट्युबमा नेपाली ट्रेन्डिङ्गमा पाँचौ स्थान सम्म पुगेको थियो । चार वर्ष अगाडी अध्ययनका लागि अष्ट्रेलिया पुगेका उनी अहिले नेपाल फर्किएका छन । अष्ट्रेलियामा अध्ययन र पार्ट टाइम जबका वावजुद पनि उनी आफै संगीत अभ्यासलाई निरन्तरता दिईरहेका थिए ।

संगीत आफ्नो आत्मा भएको कारण संगीत बिना बाँच्न उनी असंभव ठान्छन अष्ट्रेलिया त के उनी अर्कै ब्राह्माण्डमा पुगे पनि संगीत छाड्न नसक्ने बताउँछन । नेपाल रहँदा चारवटा गीत रेकर्डीङ्गको करिब करिब अन्तिम चरणमा उनी छन । उनका ती गीतहरु मध्ये दुईवटा प्रेमभाव र दुईवटा मनोरञ्जनात्क गीतहरु रहेका छन । संगीतकार प्रेम घिमिरे र भिम बिसीको संगीत रहने गीतहरुमा एउटा गीतमा मेलिना राईको पनि आवाज रहनेछ । लक डाउन नभएको भए एक महिना मात्र नेपाल बस्ने ठानेका उनी लकडाउनले गीत रेकर्डिङ्ग र म्युजिक भिडियो बनाउने काममा साईत जुराई दिएको ठान्छन ।

पछिल्लो गीत रेकर्डिङमा हालै नेपाल आइडल सेकेन्ड रनरअप बनेका किरण भुजेलको साथ सहयोग रहेको पनि उनी थप्छन । यसपछि पनि उनी निरन्तर सङ्गीतमै रहेर नेपाली सङ्गीत क्षेत्रको विकास र स्त्तरोन्नतीमा लागि रहने सोचँमा छन ।
(गायक सुनिल कटुवालसँगको टेलीफोन संवादको आधारमा सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गायक बन्ने सपना बोक्नेहरु मध्यको एउटा कथा(प्रेर..." A few seconds ago

सम्बन्धित खवर