आदिवासी परिचय...!! – Satabdi News

आदिवासी परिचय…!!

बिमन किराती

डियर आप्रवासी मित्र
हुन त
तिमी सगै मिल्छ मेरो पनि जिकिर
तिमीसगै मिल्छ मेरो पनि हुलीया
हो तिम्रो जस्तै चल्छ मुटु पनि
बग्छ तिम्रो जस्तै रगत
तिमीसगै मिल्छ मेरो पनि शरीर।

तिमीलाई जतिनै
मलाई पनि राम्रो थाहा छ
मान्छेको जात मान्छे नै हो।
मान्छेको भाषा मान्छे नै हो।
मान्छेको धर्म मान्छे हुनु नै हो ।
हो मान्छेको सभ्यता मान्छे नै हो।
तर जब
सब यी अकाट्य सत्य सबुदहरू
तिमी केवल आफ्नो अनुकूलताको लागी
कुटिल मन्त्र बनाई जपि हिड्छौ
हो तेहि बाट कोरिन्छ हामीमा धर्साहरू
तेहिबाट प्रस्टिन्छ तिम्रो खोटि नियतहरू
तेहि बाट कर्कश लाग्छ मलाई
तिमीले गाउने समानताको धुन
तेहि बाट अश्निल लाग्छ मलाई
तिम्रो राष्ट्रीय गीतको अन्तरा।

तिमी नेल बनेर घोचिएका छौ हाम्रो
मनहरूमा ,भोगाईहरूमा
बहुत विचित्रले चहराई रहेन्छ तिम्रो
आत्मीयताको स्लो पोईजन्स
मनको मझेरिमा।

ओ डियर आप्रवासी मित्र,
तिमीलाई समयको हत्केलामा रोकेर
केरकार गर्न मन छ
कि,
देसको सब भन्दा पुरानो मानिस
कसरी हुन सक्छ आफ्नै भुगोलभित्र अपरिचित ?
तिम्रो आप्रवासी कायालाई स्वागत गर्दै
प्रथम पटक तिमीलाई बॉस दिने मानिस
कसरी पर्न सक्छ
तिमीबाटै वहिस्करण चक्रमा?

ओ!आप्रवासी मित्र,
हुन त
तिमी सगै मिल्छ मेरो पनि जिकिर
तिमीसगै मिल्छ मेरो पनि हुलीया
हो तिम्रो जस्तै चल्छ मुटु पनि
बग्छ तिम्रो जस्तै रगत
तिम्रो र मेरो उस्तै उस्तै छ शरीर।
तर अपशोच
भष्मेखोरिया फॉडेर
आदिम आवदी बसाउने मानिस
तिम्रो आप्रवासी चेतनाको अतिक्रमणले
किन सुकुम्वासी बनिरहनु परिरहेछ ।

जिन्दगीको हिसाब किताब
तिम्रो भन्दा हाम्रो सरल छन्
तर
बॉच्नु को हिसाब किताब
हाम्रो भन्दा तिम्रो सरल छन्
यो विभेदको भेद
एउटै देसमा कसरी??
डियर आप्रवासी मित्र…।

आदिवासीहरूका घर जलाएर
तिम्रो मन्दिर बनाउने
सत्ताको फरमानले
हेरौ अझै कति सताब्दि
देसलाई गिज्याईरहने छ।
समयलाई गिज्याई रहने छ।

म त
लाख खतराहरू संग खेलेर
सर्वप्रथम यस धर्तिमा
देस बनाउने मानिस ।
म त
तिमीलाई हिडाउन
आफु बाटो बनि दिने मानिस।
म त
तिम्रो हितमा सर्वदानी भई दिने मानिस ।
अटुट कष्टका खापहरू भुलेर
आफु अलिखित भएरै पनि
तिम्रो इतिहास गाथा पढि दिने मानिस।

डियर अप्रवासी मित्र,
तिमीसँग संवाद गर्न चाहन्छु यस बखत
राख्न चाहन्छु केहि आह्वान-प्रश्न तिमीलाई
के सम्भव छ अझै हामीमा
एकअर्का को पसिनाको गन्ध स्वीकार गर्ने?
के हिम्मत बाकि छ हामीमा
एकअर्काको पहिचानलाई सम्मान गर्ने?

हुन त परिवेस मौरीहरूको नभएर
सलह हरू कै छ…!!!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आदिवासी परिचय…!!" A few seconds ago

सम्बन्धित खवर