भष्ट्राचार विरोधी छवि बनाएका अधिकृत प्रेम सञ्जेल माथि कुटपिट – Satabdi News

भष्ट्राचार विरोधी छवि बनाएका अधिकृत प्रेम सञ्जेल माथि कुटपिट

श्रावण १७, विराटनगर । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कुटपिट भएको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेका हुन् । उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको बताए ।

दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ । दुवै जना कार्यालयका करारका कर्मचारी हुन् । एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको प्रहरीले जनाएको छ । श्रम कार्यालय स्रोतकाअनुसार काम नगरेको भन्दै सञ्जेलले करारका नायव सुब्बा निर्मलकुमार दाहाललाई शुक्रबार कामबाट निकालिदिएका थिए ।

दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला) को बहिनी ज्वाईँ हुन् । केही दिनअघि कार्यालयको पानी तान्ने मोटर पनि चोरी भएको थियो। मोटर चोरी भएपछि र कार्यालयका सामानको सुरक्षा नभएको भन्दै सञ्जेलले चार जना करारका कार्यालय सहायक मध्ये दुई÷दुई जना गरेर पालो हिसाबले २४ घण्टानै ड्युटीमा खटाएका थिए ।

महिला कर्मचारीलाई २४ घण्टानै ड्युटीमा लगाएको भन्दै कार्यालय सहायक सञ्जेलसँग आक्रोशित बनेको एक कर्मचारीले बताए । ‘बहिनी ज्वाईंलाई कामबाट निकालिदिएको र आफूलाई पनि २४ घण्टा नै ड्युटीमा लगाएपछि सञ्जेलसँग निरौला आक्रोसित बनेकी थिइन्,’ उनले भने, ‘त्यही रिस फेर्न अर्की कार्यालय सहायकसँग सहयोग लिएर कार्यकक्षभित्रै प्रमुखमाथि आक्रमण गरियो । ’

प्रहरीले पनि अनआवश्यक ड्युटीमा लगाउँदै काममा पेलेर धेरै दुःख दिने गरेको र आफन्तलाई कामबाट निकालिदिएको रिसमा कुटपिट गरेको खुलेको बताएको छ । पटक–पटक सञ्जेलले गालीगलौज गर्ने र अनाआवश्यक ड्युटीमा लगाउँदै एकलौटी पेल्ने काम गरेकाले पनि कुटपिट गरेको उनीहरुले प्रहरीलाई बताएका छन् ।

सधैं कार्यालयका कर्मचारीलाई कामको विषयमा सञ्जेलले धेरै तनाव दिने गरेको उनीहरुको आरोप छ ।

कुटपिटमा संलग्न दुवै जना शनिबार बिहान १० बजेतिर कार्यालयमा आइपुगेका थिए । केही बेरमा चालक निरज भट्टराईले गाडीमा सञ्जेललाई पनि लिएर कार्यालयमा आइपुगे । सञ्जेल सबै सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्ने गर्छन् । प्रत्येक दिन राति ८/९ बजेसम्म कार्यालयकै काममा व्यस्त हुन्छन् ।

घटनाका प्रत्यक्षदर्शी स्थानीय रेवतीप्रसाद अधिकारीकाअनुसार सञ्जेल आइपुगेको केही बेरमा नेत्र र मेनुका पनि कार्यालयतिर लागेका थिए । ‘दुवै जना कार्यालय आइपुगेदेखि नै आक्रोशित देखिन्थे,’ अधिकारीले भने, ‘उनीहरुले कार्यकक्षमा पुगेर सञ्जेलमाथि कुटपिट गर्न थालेको हामीले चाल पायौं ।’ कुटपिट भएको थाहा पाएपछि पुग्दा एकोहोरो हानिरहेको देखेको उनले सुनाए ।

‘घटना थाहा पाएर हामी सबै गयौं । सञ्जेल आफैंले ढोकाको चुक्कुल चैं खोल्न भ्याएको पाइयो,’ उनले भने, ‘उनीहरु जे भेट्यो त्यसैले कुटीरहेका थिए । तत्काल हामी नपुगेको भए अप्रिय घटना पनि हुन सक्ने अवस्था थियो ।’

कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ ।

सरकारी कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीविरूद्ध संघर्षरत उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते उक्त कार्यालयको प्रमुखका रुपमा पठाइएको थियो । तर कर्मचारीका नेता र केही व्यापारीको दबाबमा ७० दिनमै उनको सरुवा सरकारले पुस ५ गते व्यावसायिक सीप तथा तालिम प्रतिष्ठानमा इटहरी गर्यो ।

उपसचिव सञ्जेलले आफूलाई गैरकानुनी र अन्यायपूर्ण व्यवहार गरेको भन्दै सर्वोच्च अदालतमा २०७५ फागुन १७ गते रिट निवेदन दायर गरेका थिए । कार्यअवधि नपुगी अन्यायपूर्वक गरिएको सरूवाबारे सरकारले सुन्दै नसुनेपछि उनी सर्वोच्च पुगेका थिए । रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निजामती कर्मचारी ऐनविपरीत सरुवा गरेको ठहर गर्दै सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

सरुवा कानुनसम्मत नदेखिएको सर्वोच्चको ठहर थियो । त्यसपछि उनी २०७५ फागुनमै श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएर काम थालेका थिए । भ्रष्टाचारविरुद्धमा निक्कै आक्रमण हुने उनी आफू भ्रष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउँछन् ।

निक्कै खरो स्वभावका सञ्जेल कार्यालयमा हुने ढिलासुस्तीको पनि विरोधी हुन् । काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घुस खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उनले तत्कालै जागिरबाट हटाउने गरेका छन् ।
अन्नपूर्ण पोष्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भष्ट्राचार विरोधी छवि बनाएका अधिकृत प्रेम सञ्जे..." A few seconds ago

सम्बन्धित खवर