के हामीले छुवाछुत अन्त्यका लागि गैरदलित साथीहरुका बा-आमा मरुन भनेर कामना गर्नु पर्ने हो; अधिवक्ता मोहन सासंकर – Satabdi News

के हामीले छुवाछुत अन्त्यका लागि गैरदलित साथीहरुका बा-आमा मरुन भनेर कामना गर्नु पर्ने हो; अधिवक्ता मोहन सासंकर

श्रावण १७ काठमाडौ । स्पिक आउट अगेंष्ट कास्ट सिष्टम मुल आयोजक तथा नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय सम्पर्क कमिटीको आयोजनामा रुकुम नरसंहार हत्या घटनाको न्यायको लागी निरन्तर सडक बहस कार्यक्रम किर्तिपुरमा  भईरहेको छ ।

उक्त बहस कार्यक्रममा भेरी नगरपालीका प्रमुख चन्द्र प्रकाश (सिपि ) घर्तिले नवराज विक सहित ५ जनाको हत्या गर्ने हरुलाई सजाय को माग गर्दा आफुलाई राजनीतिक रुपमा मार्न (पोलिटिकल किलिङ) खोजेको खुलासा गर्नु भएको छ । अन्याय र अत्याचार को विरुद्ध आफु जस्तो सुकै परिस्थितिमा पनि लड्ने बताउदै नगर प्रमुख घर्तिले साच्चै नेपाल लाई समृद्ध बनाउने हो भने जातिय विभेद अन्त्य गर्नु पर्ने र सबै जात को मान्छे सम्मान पुर्वक बाँच्न पाउनु पर्ने बताउनु भयो । आफुले पटक पटक आग्रह गर्दा पनि प्रदेश र संघ का सांसदहरु घटनाको बारेमा बोल्न नचाहेको उहांको भनाई थियो । विश्व मंगल ग्रहमा बस्ती बसाउदै छ, चन्द्रमा बस्न सकिन्छ कि भनेर अनुसन्धान भइरहेको छ । तर नेपाली समाज मान्छेले मान्छेलाई छुन नहुने जस्ता संकिर्ण विचारले ग्रस्त भएको छ । यो हाम्रो लागि लज्जाको विषय हो । समाजमा जातिय विभेद छैन, भनेर भाग्ने भन्दा पनि सबै पढेलेखेका युवा विद्यार्थीले अब यसलाई निर्मुल पार्ने तरिकाले लेखेर बोलेर एक्सनमा जानू पर्नेमा जोड दिनु भयो । मलाई उत्पीडित समुदायले भोट दिएर जिताएको स्मरण गर्दै म सधैं समाजमा रहेका हरेक खाले विभेदका विरुद्ध उभिन्छु यसरी उभिदां मेरो पद खोसिन्छ भने पनि खोसियोस् तर न्यायको लडाइँमा कसै संग पनि सम्झौता नहुने प्रष्ट पार्नु भयो । हामी जो जहाँ जस्तो अवस्था मा छौं सबै ठाउ र तप्काबाट विभेदका विरुद्ध लागौं र रुकुम पश्चिमको घटना लाई अन्तिम बनाउने ढंगले अगाडी बढौं । म यहाँहरु संगै लड्ने बाचा गर्दछु घर्तिले भने ।

कार्यक्रममा अनेरास्ववियूका नेता रश्मि आचार्यले समाजमा रहेका हरेक खाले विभेदका विरुद्ध अनेरास्ववियू लड्ने बताउनु भयो । अनेरास्ववियू जस्तो प्रगतिशील संगठनले जातिय विभेद जस्तो जघन्य अपराध लाई नजर अंदाज गर्न नमिल्ने बताउनु भयो । हरेक परिवर्तन को आन्दोलनमा अनेरास्ववियू अग्रपंक्तीमा रहेको बताउदैं जातिय विभेदका विरुद्ध पनि अग्रपंक्तिमा अभियान नै गर्ने गरि अगाडी बढ्ने कुरा बताउनु भयो । रुकुम पश्चिमको घटनाले सिंगो मुलुकलाई नै लज्जित बनाएको बताउदैं दोषीलाई कडा भन्दा कडा कार्वाही हुन पर्नेमा जोड दिनु भयो । बहुदल ल्याउने बेलामा आजको नेतृत्व ले जसरी आफ्ना बा आमालाई बहुदलिय व्यवस्थाको बारेमा सम्झाएर सडक आन्दोलन सम्म ल्याउन सफल भए त्यसरी नै सम्पुर्ण गैरदलित समुदायले अब बा आमा ले मान्नु हुन्न भनेर छुट पाउने अबस्था नरहेकोले घर बाटै जातिय विभेद अन्त्य गर्न लाग्नु पर्ने बताउनु भयो । अब पनि युवा पुस्ताले बा-आमाले मान्नु हुन्न, समाजले मान्दैन भनेेर उम्किन नमिल्ने उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै रुकुम घटनाका स्थलगत अध्ययन टोली का सदस्य, नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य अधिवक्ता मोहन सासंकरले रुकुम घटनामा प्रहरीले ठुलो त्रुटि गरेको बताउनु भयो । उहाँले प्रारम्भ देखि नै प्रहरीले तथ्य र प्रमाणहरु लुकाउन खोजेको उहांको आरोप थियो । अदालतमा रहेको मुद्दाको बारेमा धेरै बोल्न नमिले पनि न्याय पाउनेमा भने शंका उब्जिएको उहांको भनाई थियो । जातिय विभेदका घटनामा बिना शुल्क बहस पैरवी गर्दै आउनु भएका सासंकरले अब पनि बिस्तारै परिवर्तन हुन्छ भनेर दलित समुदायलाई ठुलो भ्रममा राखिएको बताउनु भयो । बा-आमा ले मान्न हुन्न भनेर गैरदलित साथीहरुले भन्ने गरेको कुरा प्रति इङगित गर्दै के हामीले छुवाछुत अन्त्यका लागि गैरदलित साथीहरुका बा-आमा मरुन भनेर कामना गर्नु पर्ने हो ? उहाँको प्रश्न थियो । सबै मिलेर र एकजुट भएर मात्र जातिय विभेद हटाउन सकिन्छ भन्दै सबै समुदाय लाई एक भएर जातिय विभेद विरुद्ध ऊभिन आव्हान गर्नु भयो ।

कार्यक्रममा अनेम संघ केन्द्रीय सदस्य अधिवक्ता सुनिता अधिकारी परियारले दलित आन्दोलनलाई एकीकृत गरेर लैजानुको विकल्प हामीसंग छैन । एक ठाउँ उभिए मात्र दलित मुक्ति सम्भव रहेको उहाँको भनाई थियो । अब पनि जातका नाममा नवराज बिकहरु मारिनु यो समाजको लागी विडम्बना भएको भन्दै रुकुम घटना अन्तिम हुने गरि निर्णायक आन्दोलन गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा अनेरास्ववियूका नेता मोति विकले कम्युनिस्टहरुको दुई तिहाईको सरकार हुदाँ पनि यस्ता खाले घटना घट्नु निकै पिडादायी भएको बताउनु भयो । युवा विद्यार्थीहरु एकजुट भएर यो कुसंस्कारका विरुद्ध लाग्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा युवा नेत्री तथा समाजशास्त्री उषा किरण तिमिल्सिनाले राज्य संचालकहरुको दैध चरित्रले गर्दा नै रुकुम पश्चिमका हत्याराहरुको मनोबल बढेको बताउनु भयो । क्रान्ति को विगुल फुक्नें रुकुम जाजरकोटमा जसरी नवराज विक सहित पाचं जना को हत्या गरियो यसले कमरेडहरु दलालमा परिणत भएको स्पष्ट पारेको उहाँ को भनाई थियो ।

कार्यक्रममा अधिवक्ता यम कुमारी ददेलले रुकुमका पिडीतले न्याय नपाउन्जेल घटना ले कस्तो मोड लिन्छ भन्न नसकिने बताउनु भयो । जात मिल्दा र मन मिल्दा थुप्रै बाल बिबाह गराउने समाज ले नवराज विकलाई बाल बिबाह संग जोडिनु हास्यास्पद तर्क बाहेक केही होइन उनले भनिन् । कीर्तिपुरमा भएको आन्दोलनलाई धन्यवाद दिदै यस्ता खाले बहस धेरै गर्नु पर्ने र समग्रमा दलित आन्दोलन लाई सबै समुदायको आन्दोलन बनाए मात्र अन्दोलन सफल हुने उहाँको भनाई थियो ।

कार्यक्रम रवि सेन्चुरीको को अध्यक्षता, प्रेम विश्वकर्माको स्वागत मन्तव्य र रामलाल राजवंशी विकेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "के हामीले छुवाछुत अन्त्यका लागि गैरदलित साथीहरु..." A few seconds ago

सम्बन्धित खवर