विराटनगर महानगरको निर्णय : अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द – Satabdi News

विराटनगर महानगरको निर्णय : अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

श्रावण ११, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस समुदाय स्तरमा फैलनसक्ने भन्दै सामाजिक दुरी र स्वास्थ्य सचेतनाका मान्यताहरुलाई कडाइपूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज आइतबार महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई रोकथाम तथा नियन्त्रण गर्न अनुगमन कार्यदल समेत बनाएको हो ।

विराटनगर महानगरपालिकाले कार्यालयमा हुने भिडभाडका कारण भाइरस संक्रमणको दर उच्च हुने तर्फ सचेत हुँदै केही समय अत्यावश्यक सेवा बाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले घरनक्सा पास गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण तथा कार्ड नविकरण जस्ता काम केही समय पछि गर्न सकिने भन्दै तत्काल नगरिनहुने काम मात्र गर्ने निर्णय गरेको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिएका छन् ।

प्रमुख पराजुलीका अनुसार अब महानगर भित्रका हरेक पसल व्यवसाय सञ्चालन गर्ने सञ्चालक र त्यहाँ काम गर्ने कामदारहरुले अनिवार्य मास्क लगाउनु पर्ने, त्यका लागि नियमितरुपमा समितिले अनुगमन गर्ने र मास्क नलगाएको पाइएमा पहिलो पटक १० रुपैंया लिएर मास्क उपलव्ध गराउने निर्णय गरेको छ । दोश्रो पटक पनि उल्लंघन गरेको पाइएमा १५ दिनका लागि व्यवसाय बन्द गरिदिने निर्णय भएको छ ।

प्रदेश १ मा कोरोना भाइरस समुदायस्तरमा फैलिसकेको मुख्यमन्त्री शेरधन राईले संसदमै जानकारी गराइसकेको सन्दर्भमा परीक्षणको दायरा बढाउनु पर्ने विषय पनि बैठकमा उठेको थियो । प्रमुख पराजुलीले भन्नुभयो ‘अब हामी समुदायस्तरमा परीक्षणको दायरालाई बढाउँछौं र हाटबजार लगायत अनावश्यक भिडभाड हुने क्षेत्रमा कडाइका साथ नियन्त्रणको लागि काम गर्छौं ।’

विराटनगर महानगरपालिकाले कोरोना भाइरसको अवस्था हेरेर कुनैपनि बेला लकडाउनमा जानुपर्ने अवस्था तर्फ महानगरले अध्ययन गरिरहेको भन्दै सबैलाई सचेत रहन र स्वास्थ्य सम्वन्धी मान्यताहरु पालना गर्न आग्रह गरेको छ ।
हाम्रोमतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विराटनगर महानगरको निर्णय : अत्यावश्यक सेवा बाहे..." A few seconds ago

सम्बन्धित खवर