किर्तिपुरमा निरन्तर आन्दोलन र बहस; रुकुम नरसंहार जातिय विभेद विरुद्ध – Satabdi News

किर्तिपुरमा निरन्तर आन्दोलन र बहस; रुकुम नरसंहार जातिय विभेद विरुद्ध

असार ८, किर्तिपुर । रुकुम नरसंहार र देशभरि दलित समुदाय माथि श्रृंखलावद्व रुपमा भएको हत्या तथा जातिय विभेदका विरोधमा भएको कार्यक्रमका वक्ताहरुले रुकुम पश्चिम हत्या काण्डले नेपाली समाजलाई लज्जित बनाएको बताएका छन् । नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय सम्पर्क कमिटीको संयुक्त आयोजनामा “समाज निर्माणमा दलित समुदायको योगदान र विभेद” विषयक सडक सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।  

कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले दलित समुदाय ज्ञानवान, सिद्धान्तवान समुदाय भएको बताउदै दलित समुदाय धर्ति जस्तै, रुख जस्तै अटल रहेको र जति लात्तिले हाने पनि कहिले विचलित नभई समाजलाई योगदान गरेको समुदाय हो उनले भने  यसको बदलामा यो समुदायलाई सधै विभेद गर्नु, अपहेलित गर्नु ज्यादै निन्दनीय विषय हो । दलित समुदायलाई पटक पटक राजनीति गरेर राज्यले नै विभेद र अपमानित गरेको छ । रुकुम पश्चिमको हत्या काण्डबारे आफ्नो कुरा राख्दै कोइरालाले निर्मला पन्त मारिदां राजनीतिक दलले आफ्नो मुद्दा बनाउन हुने तर ६–६ जना युवा मारिदां राजनितिक दलले मुद्दा नबनाउनुले राजनिति भन्दा नि जात माथि रहेछ भन्ने कुरा प्रमाणित गरेको बताए । उनले काग्रेस, कम्युनिष्ट, जनता समाजवादी वा कुनै पनि वादी हरुले अहिले पनि दलित समुदायको मुद्दालाई आफ्नो मुद्दा नबनाएको बताए ।

उनले रुकुम पश्चिममा मारिने युवाहरुको सम्झनामा लव पार्क बनाउन पर्ने वकालत गरे । उनले भने प्रेमले शुरु गरेको तर जात ले अन्त्य गरेको यस दुखान्त क्षणलाई सहादत दिने नवराज वि. क. सहित ५ जनाको शालिक बनाएर यस दिन लाई मानव इतिहास कै कालो दिनको रुपमा सम्झिनु पर्ने बताए । अबको आन्दोलनलाई क्रिटिकल मासले नै हाक्नु पर्ने भन्दै अबको लडाई दलित गैरदलित साथसाथै लडेर यो जातिय विभेद लाई अन्त्य गर्नु पर्ने बताउनु भयो ।

सभालाई सम्बोधन गर्दै डा. तारालाल श्रेष्ठले छुवाछुत र विभेद को विषय कानुन र संविधान मा लेखेर मात्र नघट्ने यसलाई अन्त्य गर्नको लागि सबै न्यायप्रेमी समुदाय लाग्न पर्ने बताउनु भयो । सबै समुदाय एक ढिक्का भएर नलागे सम्म अझै धेरै नवराज वि.क. हरुले ज्यान गुमाउने भन्दै अब पनि तातेनौं भने  धेरै ढिलो भइसक्ने भन्नु भयो । श्रेष्ठले प्राध्यापन पेशामा रहेका तथा नेपालका विद्वानहरु जो साम्राज्यवाद विरुद्ध, उपनिवेशवाद विरुद्ध, पुरुषवादी अंहकार विरुद्ध भन्दै एकदमै ठुलो क्रान्तिकारी विचारहरु पढेर, थेसिस(शोधपत्र)लेखेर, अनुसन्धान गरेर, आर्टिकल लेखेर आएका व्यक्तिहरु पनि रुकुम पश्चिम नरसंहारमा मौन रहनु भनेको यो वा त्यो बहाना मा त्यस्ता हत्यालाई प्रोत्साहन गर्नु हो । तसर्थ आफुलाई क्रान्तिकारी  वा विद्वान् हुँ भन्ने ले लाज मान्नु पर्ने उनको भनाई थियो । सभालाई सम्बोधन गर्दै लेखक तथा साहित्यकार संगितले यो लडाईं दलित संगठन वा दलित समुदायको नभई यो लडाई आम न्यायप्रेमी हरुको हुन पर्ने बताए । उनले भने  राजनीति र व्यवस्थालाई दोषमुक्त गरेर आन्दोलन अघी बढ्न सक्दैन । राज्य व्यवस्था संगको लडाईं नै दलित समुदायको लडाई रहेको उनको भने । संगितले दलित समुदायलाई विभिन्न पार्टीको नाममा विभाजन नभई दलित मुद्दाको सन्दर्भमा एक ठांउमा उभिएर आन्दोलन गर्न दलित समुदायका नेताहरुलाई आव्हान पनि गरे । उनले नवराज वि.कको हत्यालाई लुकाउन हामीले चुनेका जनप्रतिनिधि नै सक्रिय रहेको पनि बताए ।

सभामा नेकपा किर्तिपुरको नेत्री कल्पना सुनारले पनि सम्बोधन गर्नु भएको थियो । सभा लाई सम्बोधन गर्दै नेराविसंका सह–संयोजक तथा यस आन्दोलका संयोजक रवि सेन्चुरीले दलित समुदायले गरेका योगदान के अपमानको लागि थियो भन्दै राज्य लाई प्रश्न गरेका थिए । अबको लडाई सबै मिलेर लड्नु पर्ने उनको भनाई थियो । सभामा दलित समुदायले आफ्ना सीप र श्रृजना मार्फत समाजलाई योगदान दिएको भन्दै विभिन्न  आरानका सामाग्री, बाजा, सिलाई मेशिन,  सारङगी लगायतका सामाग्री सहित युवा विद्यार्थीहरु साङ्केतिक विरोध गरेका थिए । कार्यक्रम अनेरास्ववियू उत्पिडित विद्यार्थी राष्ट्रिय सम्पर्क कमिटीका उपाध्यक्ष रामलाल राजवशीं वि.क.को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किर्तिपुरमा निरन्तर आन्दोलन र बहस; रुकुम नरसंहा..." A few seconds ago

सम्बन्धित खवर