दलित शब्द हटाउँदैमा नवराजहरुमाथिको अन्याय हट्छ भन्ने होइन - आस्था राउत – Satabdi News

दलित शब्द हटाउँदैमा नवराजहरुमाथिको अन्याय हट्छ भन्ने होइन – आस्था राउत

यो समय एकदमै निर्मम समय छ । यो विश्व जितेर ब्रमाण्ड्तर्फ उन्मुख मानवजाति आज अदृश्य भाईरसको आक्रमणले अस्तित्वकै संकटमा पुगेको छ । विश्वका सबै देशहरु मिलेर यो संकटको सामना गर्नु आजको पहिलो आवश्यकता हो ।

मानिस समग्रमा एकै भएपनि हामी भुगोलका आधारमा, जातका नाममा, धर्मका नाममा, वर्गका नाममा, सम्प्रदायका नाममा, लिङ्गका आधारमा र थुप्रै नाममा जहिल्यै बिभक्त छौँ ।

मलाई लाग्छ विभिन्न नाममा बिभाजित मानवजातिलाई एकजुट बनाउनकै लागि कहिलेकाहीँ विश्वसंकटहरु आईपर्दछन् । तर, हामी छौँ कि कहिले पनि चेत्ने नाम लिँदैनौ । विश्वमा संकट आउँछ, हामी हाम्रो देश त ठिकै छ भनेर चुपचाप बस्छौं । जब देशमा आईपर्छ, मेरो त क्षेत्र सुरक्षित छ नि भनेर निश्चन्त हुन्छौं । तर यो पक्का छ कि एकदिन हामी सबै त्यस्ता संकटको भुमरीमा पर्नेछौँ । हेरौँ त, कोरोनाबिरुद्द एक हुँदै गरेको विश्वलाई के के कुराले बिभाजित गरेको छ भारत र नेपाललाई कालापानी लिपुलेकको सिमा विवादले बिभाजित गरेको छ । त्यहि सीमानामा लागेको चोटले राष्ट्रियताका नाममा एकढिक्का भएका सारा नेपालीलाई यतिबेला रुकुममा भएको घटनाले नराम्ररी बिभाजित गरिदिएको छ । हिजो खुकुरी र तरवार भिरेर सीमामा लड्न तयार भएका कथित, दलित दाजुभाईहरुका नौनारी गलेका छन् । सीमा मिच्ने भारतभन्दा ठूलो शत्रु उनिहरुले देशभित्रै, वल्लो पल्लो गाउँमै भेटेका छन्। सहि ढंगले रुकुम हत्याकाण्ड सम्बोधन भएनभने यसले निम्त्याउने नतिजा भयावह हुन सक्छ ।

त्यसैले मेरो बिनम्रतापुर्वक अनुरोध छ !
हामी बिभक्त हुने होइन कि एक हुने काममा लागौँ, भोक भोकै मर्ने संघारमा उभिएका आमाबुवा दाजुभाइ दिदीबहिनीहरु बचाउन तिर लागौँ, महामारीले ग्रस्त देशवासीहरुको उपचारमा लागौँ, जातीय विभेदका नाममा ज्यान गुमाउन बिवश नवराजहरुलाई न्याय दिनका लागि जुटौँ, खाडी मुलुकबाट रोजगार गुमाएर फर्किँदै गरेकाहरुको रोजगारीको खोज गरौँ । पहिले हामी एक हुनतिर लागौँ ! हामी बलिया, शिक्षित, सचेत, आत्मबिश्वासले भरिपुर्ण, नेपाली हुन सक्यौं भने सीमा सुरक्षा गर्न कसो नसकिएला ?

फेरि पनि महत्त्वपूर्ण विषय भनेको समस्याहरुको प्राथमिकताको हो । क्रमैसँग मुद्दाहरुको गाम्भिर्यताका आधारमा विषयहरु प्राथमिकतामा परे भने हामीलाई त्यसको निराकरण गर्न पनि सजिलो हुनेछ ।

नवराज वि.क र उनका साथीहरूको बर्बरतापुर्ण हत्याको घट्नामा पनि शब्दको राजनितीमा लाग्नुले विषयान्तर गर्नु हो । दलित शब्द हटाउँदैमा नवराजहरुमाथिको अन्याय हट्छ भन्ने होइन । हटाउनुपर्ने त समाजले गर्ने विभेद हो, अपमान हो, अन्याय हो ।
जय नेपाल ! जय नेपाली !!!

यो लेख आस्था राउतको फेसबुकबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दलित शब्द हटाउँदैमा नवराजहरुमाथिको अन्याय हट्छ ..." A few seconds ago

सम्बन्धित खवर