✍🏻बिमन किराती
सिमानामा घाऊ लागेर
देशलाई दुखेको बेला
छातीमा देस बोक्नेहरूलाई
सबभन्दा बढि दु:ख्ने रहेछ देश ।
लाग्छ
माटोको माया मन भरि टाँसेर बाँच्नेहरूलाई
बाँच्नुभन्दा बढी जन्मभूमिको
माटो कै माया हूनेरहेछ ।
सोच्छु
यसरी त कहिले दुखेन जिन्दगी
आफ्नै प्रियजनहरूका बिदाईमा पनि
यसरी त कहिले उठेन आवेशको पहाड
र भएन ऐठन
प्रिय भन्दा प्रिय बहूमुल्य
वस्तु सदालाई गुम्दा पनि
तर आज
छिमेकीले देसको सिमानामा
नङ्ग्रा गाढ्न खोजिरहँदा
लागि रहेछ आफैलाई बिर्सिएर
आक्रोशको झरि बर्षाऊ।
र बगाऊ जसरी
बर्षामा नदिले बगाउँछ
छेउछाउका झाडी र पत्कर..
लागिरहेछ बजाऊनै पर्छ अब
वीरताको राष्ट्रिय गीत
र देखाउनै पर्छ अब
स्वाभिमानको सगरमाथा
निर्लज्ज हिड्न खोजिरहेको
छिमेकीको बाटो छेकेर ।
छिमेकीको खातिर
अन्जूलीमा सदभावको फूल बोकेर
बिझाउला कि झैँ गरेर सदैव
सत्कारले सौगात अर्पिरहँदा
छिमेकी, छिमेकीजस्तो बनेन कहिल्यै पनि
बूझेन हाम्रो मित्रताको बराबर ईमान
बरू बदलामा उस्ले मुसा बनेर
खनि रह्यो हाम्रो छाती भन्दा प्यारो देश ।
यतिबेला लेख्नु छ
छिमेकीलाई जरूरी पत्र
भन्नु पर्ने छ
बसौँ आऊ
सम्बन्धको चौतारीमा
हेरौँ आऊ इतिहासको रेखाहरूमा
ईमान र वीरता का हिमालहरू कस्का कति ठुला ?
गरौँ न हिसाब तिम्रा सिमाना रक्षार्थ
हामीले बगाएको रगत पसिनाको
हेर त !
यदि तिम्रा सिमानाको मोर्चा बाट
हाम्रो नौजवानहरू फर्किए भने
के रहला तिम्रो देश सकुशल?
सम्झाउनु छ उसलाई केहि हरफ
बिगतको बाँकी बहिखाता
भन्नु छ उसलाई
सम्बन्धको गलत प्रयोग
कहिले नगर्नु छिमेकमा
किनकी असल छिमेकी
असल रहेन भने
धेरै कुरा असल नरहन पनि सक्छ घर भित्र ।
आफ्नैहरूलाई पनि गर्नू छ सम्बोधन
बारम्बार फर्किँदैन कुटनितीमा मौका
मनशुन फर्किए जसरी
हरेक साल…..
यो अन्तिम विद्रुप मौका हुन सक्छ छिनोफानोको…
प्रतिबद्धता जाहेरी गर
ओ घरको मझेरिमा बस्नेहरू !
कि अब उप्रान्त
देशको छानोमा घाम तापेर
छेपाराझैँ फेर्ने छैनौ लोण्डुपे रङहरू ।
हुने छैनौ
दूर्योधन र विभीषण
बचाऊँ आफूलाई राष्ट्रघाति कुलाङ्गार
हूनबाट
उठाउने अठोट गर
सार्वभौमको गाण्डीव धनु
वर्तमानमा तिमीलाई सुविधा हुने छैन
थकित स्वाभिमानलाई बिसाऊन ।
ओ नौजवान हरू हो !
ओ राष्ट्रप्रेमीहरू हो
ओ देशको पहरेदार नागरिकहरू हो
उभिऔँ लामबद्द भएर सिमानामा
माटो लुटिएर देशको
बलात्कृत समय रोईरहेछ हाम्रो अघि
यस्तो बेला के हामी
स्वदेशी शरणार्थि बन्न तयार छौ ?
बेला कुबेला छिमेकीले
साँढेजस्तै बलमिच्चाँई गरेर
प्राणजस्तै सिमानामा चर्न खोज्छ
त्यतिबेला
के कविता लेख्न सकिने रहेछ र ?
कला मिसाएर
मात्र उद्देलनका आलाप गाऊन
सकिने रहेछ !
भन्न सकिने रहेछ
ख़बरदार ! होसियार !
छिमेकी
अझै हामी जिउँदै छौँ
र जिउँदै छ हाम्रो
कहिल्यै नहारेको बिरासत…।
ओ बाजहरू हो !
बुद्दहरू मौन छन् भनेर
पराजित कथाको कायर पात्रझैँ
सिमाना पागलपन नदेखाऊ…
तिम्रो अतिक्रमणको पराकाष्ठले
वेसुर वाण हानेर
क्षतविक्षेद छ
आज छिमेकीको मित्रता ।
हामीलाई थाह छ
सिमानामा देश दुख्दा
इन्ची अमल दुख्दैन महाशय !
सिङ्गो स्वाभिमान दुख्ने छ
र
नदुखाउनू कुलषित अभिलाषा बोकेर
छिमेकी हुनुको दायित्व
नगर्नू निर्मम हत्या
अन्योन्याश्रित सम्बन्धको
यसरी नदुखाउनू एक देशले
अर्को देशको स्वाभिमान
यसरी नखेल्नु संघारमा
आगोसँग जानी जानी … !