कबिता; "स्थानिय सरकारलाई पत्र...!" – Satabdi News

कबिता; “स्थानिय सरकारलाई पत्र…!”

बिमन किराती राई

अध्यक्ष ज्यू : नमस्कार…
म जनता;
अध्यक्षलाई अध्यक्ष कै स्थानमा राखेर
यो जरूरी पत्र लेख्दैछु…
अ द क् क्ष जस्तो गरी नगरी दिनु होला…

तपाईको विकास र योजनाको फेहरिस्त सुने रै
तपाईलाई मत दिईएको हो: अवगत रहोस ।

तपाईको घोषणा पत्र;
जहॉ थिए कृषि कार्यक्रम
जहॉ थिए विकास र सुशासनका कुरा
जहॉ थिए जनतालाई गॉस, बॉस र कपासका आश्वासन
जहॉ थिए शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धिका भाषण ।

थिएनन; चुनाव जितेर
तपाईको आफ्नै डोजर किन्ने योजना
तपाईको आफ्नै क्रसर उद्योग खोल्ने सपना
बिकास बजेटलाई अन्तिम समयमा
आफ्नै आसेपासेलाई पारेर चट् पार्ने षड्यन्त्रको झेलिकुरा ।

ठिकै छ अदक्क्ष जस्तै अध्यक्ष ज्यू …
आजभोलि गाईगुई मात्रै हैन
हर जो कोहि ह्वाई ह्वाई हल्ला गर्दै छन्
तपाई चुनाव अघि जे भन्दै हात जोड्दै आउनु हुन्थ्यो
त्यो बचन पुरा नगरी जतापनि हात फैलाउदै हिड्नु हुन्छ रे…
राज्यकोष को मनपरी दोहन गर्दैहुनुहून्छ रे…!

यो २१औ शताब्दी हो; केहि नबुझिए पनि
यति बुझिईएको छ:
गाऊमा सिंहदरबार आएको भनिएको छ
जनताको रगत पसिना र जिन्दगीको कसम:
तपाई गॉऊ सिध्याउने धमिरा बन्ने कि
गॉऊ बनाउने माहूरी …?

तपाईसँग प्रशस्तै योजनाहरू छन्
हरेक बोलिमा बिकास, बिकास, बिकास निकाल्नु हुन्छ
रात दिन दौडादौड छ तपाईको
सायद
भात निल्दा पनि बिकास निल्नु हुन्छ कि ?
गॉऊ त झन झन बिनास तिर जादै छ त…

देख्ने झिलिमीलीको कुरा पछि गरौला कि
अहिले हातमुख जोड्ने विकासको कुरा गरौ न…
यसै मा एउटा गथासो प्रस्तुत गर्न चाहन्छु:

अध्यक्ष ज्यू,
पहिले आफ्नो भूगोलको अध्ययन मनन गर्नुस ।
प्राचीन कालदेखि आज सम्म
कसरी कसरी कुन कुन
कृषिजन्य वस्तु उत्पादन भए, गरिए ?
त्यसबाट जनतालाई कुन अवस्थामा विकास गराईयो छुट्याउनुस …
अबको सम्भावना र चुनौति
गर्ने पने कार्ययोजनाको खाका खिपेर निकाल्नुस….
अझै सोच्नुस के अब पनि हाम्रो आवश्यकताहरू कृषि आधुनिकीकरणले सम्भव छ, भन्ने बारे…।

केवल योजनाका लागी योजना
वा
लोकप्रियताको लागी योजन नबनाउनूस …

लाग्नुस सबैलाई रोजगारी दिन सक्ने रोजगार दिन ।
साधारण मानविय आवश्यतकता कै लागि गाऊ छोड्न बाध्यताको अन्त्य गर्न….
सबैलाई विश्वास दिलाउन साना साना काम पुरा गर्दै अघि बढ्नुस…
जस्तो कि:
कुन फसलका लागी कुन माटो र स्थान
कुन फसलका लागी कस्तो मल खाद
कस्तो कृषि औज़ार यन्त्र उपकरण
तपाई लाग्नुस:
सिंचाई, बिऊ तथा बेर्नाबारेको बन्दोवस्तीमा।
मौसम र फ़सल ,
उत्पादन बिधि प्रविधि र प्रक्रिया अध्ययन तिर..।
तपाई अधि बढ्नुस्
उत्पादन समय अवधि,
प्याकिङ: भन्डारण बारे बूझ्न
बजार र मुल्यबारे बुझेन
यातायात र दुवानी बारे बूझ्न
यो चक्र
बारे तपाईले बुझे
जनतालाई बूझाउ सक्नु हुनेछ
यो कृषि प्रधान देश हो
कृषिलाई विश्वास गरे
हातमुख जोड्ने बिकास र समृद्धि त्यहिबाट सुरू हुने
उम्रिने छन हाम्रा सपनाहरू लहलह
फूल्ने छन हाम्रा रहरहरू ढकमक्क…
बाच्नकै लागि घर गॉऊ छाडेर…
देश-विदेश भौतारिनु पर्दैन ?

अध्यक्ष ज्यू
एउटा गथासो निवेदन गर्दछु
गॉऊ तपाईको पनि हो, हाम्रो पनि हो
गॉऊ के चाहन्छ ?
तपाईलाई पनि थाह छ, हामीलाई पनि थाह छ
तर यतिबेला तपाईको हातमाथि छ ।
तपाई गॉऊका लागी
यस्तो काम गर्नुस कि;
गॉऊले,
तपाईसँग झुक्न परोस
तपाईलाई थुक्क नपरोस ।

अध्यक्ष ज्यू :नमस्कार…
म जनता;
अध्यक्ष लाई अध्यक्ष कै स्थान मा राखेर
यो जरूरी पत्र लेख्दैछु…
अ द क् क्ष जस्तो गरी नगरी दिनु होला…

(कबि; छोरम्बू खोटाङ नेपाल, हाल : जापान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कबिता; “स्थानिय सरकारलाई पत्र…!”" A few seconds ago

सम्बन्धित खवर