कविता "लकडाउनको खिलाफमा...!" – Satabdi News

कविता “लकडाउनको खिलाफमा…!”

बिमन किराती

ओ शासक !
तिम्रो असक्षमता र लाचारी छोप्न
देशलाई बाधेँर नलडाऊ !

तिम्रो अदुरदर्शिताको चक्रपरिचक्र बिच
देशलाई दीर्घ रोगी बनाउने
तिमीलाई कुनै अधिकार छैन ।
सक्छौ भने
विपदको विरूद्ध तीव्र वैज्ञानिक तयारी गर ।
सक्छौ भने
जन सचेतना र सुरक्षाको व्यापक बन्दोबस्त गर ।
सक्छौ भने
सरकार हुनुको मुल्यमा,
जनताका दुख, कष्टलाई तत् तत् सम्बोधन गर ।         राज्य हातमा लिएर
कर्तव्य पूरा गर्नुको खिलाफ
‘बादरको हातमा नरिवल’ चरितार्थ नगर
तिम्रो अयोग्यताको भारी
देशको ढॉडमा नबोकाऊ….।

तिमीलाई पो हॉईसन्चो छ
देश बन्द गरेर लुडो खेली बस्नु ।
तिमीलाई पो मिल्छ;
देश बन्दगरे पनि राज्यकोष खर्चेर चौरासी ब्यान्जन ।
तिम्रो पो धन्दा सुचारित छ
भित्रभित्रै प्योदाहरूबाट देश भयावह भए पनि ।

तिम्रो हरेक निकृष्ट चलखेल

हॉसी मजाकमा
देश पलपल तिमीबाट बलाकृत भइरहेछ ।

ओ शासक
तिम्रो असक्षमता र लाचारी छोप्न
देशलाई बॉधेर नलडाऊ ।

लकडाउनबाट यता पट्टी
विपद व्यवस्थापनको भर पर्दो काम
रतिभर भएको देखिएन ।
बरू,
दिन रात श्रम गरेर दुईछॉक टार्नेहरूको
भोको पेट लकडाउन भएको छ ।
सडक पेटि मैं गुजारा चलाउने भुइमान्छेहरूको
बॉस लकडाउन भएको छ ।
बरू
तिम्रो मनोमानी राहत बितरणको तथ्याङ्कले
राज्य-कोष दोहोनको सिकार हुने खतरा देखिएको छ ।
बरू,
जनचेतानाका लागी भन्दै तिमी नै कुतार्किक उपदेश
बर्बराई रहेछौ….।

ओ शासक
तिम्रो असक्षमता र लाचारी छोप्न
देशलाई बिरामी पारेर नलडाऊ ।

यस्तो बेला
तिम्रा ऑखा खुल्नु पर्ने हो ।
यस्तो बेला
तिम्रा चेतहरू चल्नु पर्ने हो ।
यस्तो बेला
तिम्रो घैँटोमा घाम लाग्नु पर्ने हो ।
तर
कसरी हो तिम्रा हर आचरण भष्ट बन्दैछन् ।
तर कसरी हो
तिमी नैतिकता पोलेर खाई अराजक बन्दैछौ ।
कसरी सक्छौ तिमी
सत्यको ब्रह्म क्षेदन गरेर
आफ्नै खिल्ली उडाउन…
हेर त
तिम्रो गोयबल्स् शैली र गोयबल्सहरू
हेर त
तिम्रा नन्दी भृङ्गीहरू
जवाफदेहिताको दिनडहाडै निर्मम हत्या गरिरहेछन् ।
कसरी सक्छौ;
पारदर्शिताहरू ऑखै अघि निलेर
आफवाहहरू को डकॉर गरिरहन ।

ओ शासक
तिम्रो असक्षमता र लाचारी छोप्न
देशलाई दलदलमा पारेर नलडाऊ ।

हुन त तिमी हुनु र नहुनु केहि फरक भएन
हुन त तिमीलाई भन्नु र नभन्नुको कुनै मुल्य रहेन
तर पनि भन्नु छ तिमीलाई अन्तिम पटक
तिम्रो आम चाकरी विरूद्ध
तिम्रो वेसोमती उपर
किन कि,
तिमीले जुका जस्तै गरि चुसिरहेको
मेरो देशको राज्य कोषमा
श्रमिकहरूको कोष-कोष निचोरेर जम्मा गरिएको हो ।
जसरी कर्मी माहुरीले
दुरदुर पुगेर
अनेक प्राकृतिक प्रहार सहेर
जम्मा गर्छ मह…।
उसै गरि श्रमिकहरूले रगत पसिना र जीवनसँग साटेर
जम्मा गरेका हुन देशको राज्यकोष ।
त्यसैले अधिकार सहितको हैसियत राखेर
जनता भन्न चाहन्छन्:
कलङ्क ! रगत चुसेर देश नलडाऊ ।

रोगको रोकथाम भन्दा बढि
तिम्रो सुविधाको लागी
देश लकडाउन गरेर
हेर्नु छैन तिम्रो छद्म नाटकहरू….!

अब ,
जॉग्ने छन् किसानहरू
लगाउने छन पसल
किन कि,किसानहरू खेतबारी बॉझो राखेर
भोको पेट बस्ने छैन तिम्रो आदेशमा तावेदारीमा ।
अब उठ्ने छन् श्रमिकहरू
खोल्नेछन् कलकारखाना
किन कि,श्रमिकहरू
तिमी जस्तो परजीवि हुनै सक्दैनन् ।

विद्यार्थीहरू बिद्यालय नगई बसि रहने छैनन् ।
शिक्षकहरू नपढाई तलव लिने छैनन् ।
पत्रकारहरू सुचना नदिइ निदाई रहने छैनन् वकिल,न्यायधिसहरू न्याय पैरवी नगरी चुप रहने छैनन् ।
राष्ट्रसेवकहरू तिम्रो किंकर्तव्य विमूढ़ताको रमिते भइरहने छैनन् ।
किन कि, देश लुटिई रहेको बेला
उनीहरू काम चोर हुनै सक्दैनन् ।

तिमीलाई पो लकडाउन, गोहिको ऑशु देखाएर
मनमा चाडवाड आए जस्तै भएको छ ।
हुने खानेहरूलाई पो लकडाउन
अनेक खजनाहरूको सुचि स्वपान गर्ने
लामो बिदा जस्तै लागी रहेको होला।
तर
श्रमजीवी नागरिकलाई त
तिमी जस्तै कालो दृष्ट्रि हुने शासकहरूले
बर्षैदेखि दिइएको प्राड्तनाको नयॉ किस्सा मात्र हो लकडाउन …
जस माथि बर्षनु छ जसै पनि अग्यास्त्र भएर ।

ओ शासक
तिम्रो असक्षमता र लाचारी छोप्न
देसलाई बॉन्दगरि नलडाऊ।

हुन त यो हावा पानी को वहाव
तिमीलाई मन परि रहेको छैन होला।
हुन त यो पारिस्थितीक पद्दती
या, ब्राह्मण्ड चक्र नै
तिमीलाई चित्त बुझी रहेको छैन होला ।
तिम्रो शक्ति मोहको नसा हेर्दा :
लाग्छ, सके त तिमी यी सब का सब राता रात
तिम्रो अनुकूल बनाउदो हौला ।
सके त तिमी तिम्रा भरैटेहरूका मात्रै
भजनमा चिरकाल आल्लादित हुदा हौ ।

तर
याद राख तिमी त प्रारम्भको एक पात्र मात्र हौ ।
जो समय चक्रमा ऋतु परिवर्तनसँगै
रूखका सुकेका पात झै
आफै झरि जानेछौ।
तर
हेक्का राख
जनता त ज़रा जस्तै हुन
जो समयको पङ्खासँगै घुम्ने खडेरीहरू
सहन गर्न सदा तत्पर रहन्छन् ।

ओ शासक हुन नसकेको शोषक!
तिम्रा सबै हर्कतहरू खारेज गर्न चाहन्छन जनता
उभिन चाहन्छन तिम्रो लकडाउन को खिलाफ….
र, गर्न चाहन्छन देशलाई हैन तिमीलाई लकडाउन…!

(कबि; किराती हाल जापानमा हुनु हुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता “लकडाउनको खिलाफमा…!”" A few seconds ago

सम्बन्धित खवर