प्रश्न, घर पुग्न हिंडेका लस्करलाई ? – Satabdi News

प्रश्न, घर पुग्न हिंडेका लस्करलाई ?

हेमराज राई

पसिना रमेकाे धरती
खाेसिएर, टुक्रिएर, साँघुरिएर
पुगेन जीवन बड्नलाई उसकाे
र, उक्लियाे शहरमा, बजारमा
बाँच्नुकाे सपनामा
सीप, सिर्जना र पसिना भएर ।
सायद आकासिंदाे मान्छेको अर्थ हाे याे;
सायद फैलँदाे समाजकाे कर्म हाे याे;
अनेक जीवनहरु, अनेक पसिनाहरु र अनेक रचनाहरु ।
तर शहर ?
शहर त बाेकि रहेछ बजार
र बनाई रहेछ मूल्यहीन
रैथाने जीवनहरु
सीपका, श्रमका र सिर्जनाका
अराजक भएर ।
त्यसैले आज यहाँ
धरति बदलिएकाे छ ।
बेचिने र किन्ने भएर बाँडिएकाे छ ।
यस्तैमा उ शहरीएकाे छ, बजारीएकाे छ ।
शहर उ आकासाउँछ
र शहर खसाउँछ उसलाई
बजार उ फैलाउँछ
र बजार झराउँछ उसलाई
मूल्यहीन बनाउँछ हरदिन
उ र उसका
श्रम, सीप र सिर्जनालाई ।
अनि थकित पाएर सपना
प्रश्नमा पाउँछ आफुलाई
याे आकासिंदाे शहर र बजारलाई ।
अब खाेज्नुछ उत्तर, यी प्रश्नहरुकाे
शहर पुगेका सीपवान जीवन भएर
बजार पुगेका श्रमवान जीवन भएर
आफ्नाे मूल्यकाे मूल्य खाेज्दै
किन आफ्नाे भागकाे ओत
बर्सादी आकास मात्रै ?
किन आफ्नाे भागकाे बास
लम्बिरहेकाे याे सडक मात्रै ?
अनि, थप उत्तर खाेज्नु छ –
बेचिने र किन्ने धरतीभन्दा
के कुनै धरती हुन्न अलग्गै ?

आज अकस्मात किन हाे
मृत्यू र त्रास आएकाे छ
र, शहर बन्द छ
अनि सिथिल बजार छ
तर बन्द छैनन् यी सीपवान जीवनहरु
सिथिल छैनन् यी श्रमवान जीवनहरु
र लस्करै हिंडीरहेछन्
बाँच्नुकाे सपना बाेकेर
आफ्नै पितृभूमी पुग्न
शहरबाट, बजारबाट
मूल्यहीनता ताेडेर, आश्रयहीनता छाेडेर ।

र, फेरि प्रश्न उभिएकाे छ
याे मृत्यू र त्राससंगै
के अब उनिहरु खाेज्नेछन्
आफनै पितृभूमीबाट
मूल्यवान अस्तित्वकाे
र अलग धरतीकाे
विकल्पमा
मूल्यहीन जीवन दिने
याे विभाजित धरतीकाे ?

(राई,समाजबादी पार्टीको उपाध्यक्ष हुनु हुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रश्न, घर पुग्न हिंडेका लस्करलाई ?" A few seconds ago

सम्बन्धित खवर