विषय प्रवेश
छिमेकी मुलुक चीनको हुबेइ (Hubei) प्रान्तको राजधानी वुहान (Wuhan) शहरमा 1, December 2019 मा देखा परेको कोरोना भाइरस (COVID-19 ) को तीब्र फैलावट र यस रोगबाट हुन पुगेको मानवीय क्षतिको कारण आज विश्व नै स्तब्ध भएको छ । आफूलाई २१औँ शताब्दीको मसिहा (सिंह) ठान्ने देशहरूलाई समेत COVID-19 ले विकल्प विहीन तुल्याई दिएको छ । केवल १ घण्टाको समयावधिमा विश्वलाई कब्जा गर्न सक्ने तागत छ भनी डुक्री हुँकार लगाइरहेका देशहरूलाई COVID-19 ले करिब चार महिना अघिबाट उल्टै कब्जामा राखेको छ । COVID-19 ले विश्वलाई नै अघोषित रुपमा संकटकाल लगाई दिएको छ ।
COVID-19 को संकटकालको कारण स्वयमलाई पनि गएको एक साताबाट १५x१२ को कोठाभित्र सिमित पारिदिएको छ । यो बसाइलाई Self Quarantine or Isolation वा Lockdown जे नाम ले परिभाषित गरे पनि हुन्छ । यसरी घर बस्दाको समयमा धेरै मित्रहरूले ज्ञानमुलक किताब अध्ययन गर्नु भएको, कोहिले टिकटकमा राम्रो अभिनय गरी घर बसाइलाई रमाइलो बनाउने कोसिस गर्नु भएको त कसैले मिठो परिकार बनाई खानु भएको आदि इत्यादि खबर तिनै सामाजिक संजाल मार्फत थाहा भयो । तर, यो स्तम्भकार भने प्रस्तुत माथिका शिर्षकभन्दा बिलकुल फरक विधाको चिन्तनमा डुबेको छ । स्तम्भकारको मन मस्तिष्कमा गाउँको यादले खुब बेग हानिरहेको छ । किन हो कुन्नि जन्मिएको गाउँको सम्झना निक्कै नै आइरहेको छ ।
तेह्रथुम जिल्लाको फेदाप गा.पा., सिम्लेको पहिरे (थुक्वारा) गाउँलाई २०६० सालमा प्रवेशिका परीक्षा दिएसंगै छोडेको हुँ । गाउँ छोडेको ठ्याक्कै १७ वर्ष पुगेछ । छोडिआएको गाउँमा यो १७ वर्षको अवधिमा मुस्किलले आधा दर्जन चोटि पुगेको रहेछु । भौतिक शरीर आधा दर्जन पटक मात्र पुगे पनि कहिले कोया खोलाको यादमा, कहिले तरकारीको अभाबमा, कहिले बा-आमाको यादमा स्तम्भकारको मन भने धेरै पटक पुग्ने गरेको छ। गाउँ पुर्याउने थुप्रै यादहरूमध्ये अहिले सम्ममा दुईवटा अवस्थाहरू चाहिँ सम्झिँदै आङ्सिरिङ् पार्ने यादहरू छन् ।
गाउँ सम्झिन बाध्य पार्ने पहिलो महा विपत्ति
१२ बैसाख २०७२ तदनुसार २५ अप्रिल २०१५ मा गोर्खा जिल्लाको बारपाक क्षेत्रलाई ईपी सेन्टर बनाइ गएको ७.८ म्यानिच्युट (Magnitude) को महाभूकप्प हो । ९,००० जना भन्दा बढीको ज्यान गएको २२,००० भन्दा बढी घाइते र दसौं हजार घरधुरीलाई घरबार बिहीन पारेको उक्त भूकम्प गएको बेला बेस्सरी नै गाउँको याद आएको थियो । विशेसगरी गोर्खा जिल्ला र काठमाडौँ, ललितपुर र भक्तपुर बस्ने मानिसहरूलाई गाउँको मायाले बिछट्टै सताएको थियो । सयकडा तीनका दरले ऋण काडेर भएपनि महिनै पिच्छे तिरी बसेका कोठामा छिर्न मन लाग्दैन थियो । त्यो बेला, ती आरसीसी घरभन्दा खुला चौरनै सुरक्षित थिए । जीवनभरि दु;खगरी पैसा जम्मा गरेर घरबेटी बन्नु भएका घरबेटि-बा पनि त्यो फोहोर चौरमा सुतेको बेला उनले (घरपेटी)पनि खुब गाउँको मिस गर्थे । भूकम्प, महामारी र खतरनाक “लू”हरूको कहरले गाउँलाई छाडी शहरलाई मात्र च्याप्छ भन्ने त होइन; तर भूकम्प र महामारीको बेला शहरभन्दा गाउँ तुलनात्मक सुरक्षित हुने गर्छ । अतः अक्सर मानिसहरू यो स्तम्भकार जस्तैगरी आपत-विपत परेको बेला आफ्नो गाउँलाई सम्झिन पुग्छन् । विश्व बैंकको २०१८ को डाटा अनुसार नेपालको कुल जनसंख्याको ८०.२६ प्रतिशत मानिसहरू गाउँमा बसोबास गर्दछन् । पछिल्लो तथ्यांक अनुसार गाउँबाट शहर बसाइ सरी जानेको संख्या बढ्दो छ ।
गाउँबाट शहर बसाइ सरी जानुको कारणहरू
(क) खेतीपातीको लागि सिंचाईको अभाब हुँदै जानु ।, (ख) खाने पानीको अभाब हुनु ।, (ग) गुणस्तरीय शैक्षिक संस्थाहरूको पहुँच नहुनु ।, (घ) अधिक मात्रामा बैदेशिक रोजगारमा जानु पर्ने बाध्यता ।, (ङ) घट्दो जनसंख्या ।, (च) परम्परागत कृषि पेशामा पछिल्लो पिंढीको रुचि कम हुनु ।, (छ) रेमिरेट्यान्सको असर ।, (ज) बढ्दो विलाशी जीवन शैली ।, (झ) स्थानीय तहमा रोजगार सिर्जना नहुनु ।, (ञ) बेला बखत हुने आन्तरिक युद्द र द्वन्द्व ।, (ट) बाढी, पहिरो, आगलागी जस्ता दैविक प्रकोप ।, (ठ) छुवाछूत तथा विभेदयुक्त सामाजिक बनावट, आदि ।
गाउँ सम्झिन बाध्य पार्ने दोस्रो महाविपत्ति
प्रस्तुत माथि उल्लेखित कोरोना भाइरस (COVID-19) को कारण गाउँबाट शहर छिरेका, स्वदेश छाडी अरु देश गएका र स्वदेश छोडी विदेशिएर बुनी-बुतो गरी जीविकोपार्जन गर्दै गरेका लाखौँ-लाख नेपाली श्रमिकहरू फेरि एक पटक आफ्नो गाउँलाई बेस्सरी सम्झिरहेका छन् । आफ्नो गाउँ फर्की जाने तरखरमा जुटिरहेका छन् । स्तम्भकारले यो आलेख तयार गर्दै गर्दा सम्ममा COVID-19 द्वारा २०,१४,०४६ संग्क्रमित र १,२७,५९५ जनाको त ज्याननै लिइसकेको तथ्याङ्क सार्वजनिक भएको छ । के रात, के दिन, कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ ।
मानिसहरू किन गाउँ फर्किन्छन् ?
जब मानिसले आफू बसेको ठाउँमा आत्मघुलन र सुरक्षाको अनुभूति गर्न सक्दैन र मानिसका आधारभूत पक्ष (गाँस, बास, कपास र रोजगारी) को ब्यबस्था गर्न सरकार असफल बन्छ तब मानिस गाउँ फर्किन्छन् । आफू जन्मेको गाउँले कोरोना भाइरस-१९ जस्ता महामारीहरूको उपचार गर्न त पक्कै सक्दैन तर गाउँमा जन्मेका मानिसहरूको आत्मिक र भावनात्मक उपचार भने अवश्य गाउँले जीवन र समाजले गर्दछ ।
संकटको बेला गाउँ जाने मानिस कोको हुन् ?
जब शहरले मानिसलाई “गाउँ जाऊ” भन्छ तब एक थरी वा वर्गका मानिस (यसैमा जात र जाति पनि जोडिन सक्छ) मानिसलाई गाउँ जानुको अरु विकल्प नै हुँदैन । शहरमा भएका सामाजिक संरचना, स्रोत- साधन, पुंजी, खाद्यान्न, तत्कालीन अबस्थामा आबश्यक पर्ने थोकहरू सकिनु वा आफ्नो पहुँचमा नहुनु अर्थात नपाउनुनै शहरले “गाउँ जाऊ” भनेको हो । “देशको गाउँ-गाउँबाट काठमाडौँमा अध्ययन गरी खान, श्रम गरी खान वा कुनै अवसर छोप्न छिरेका युवाहरू धमाधम पहुँचले भ्याएसम्म गाउँ फर्किरहेका छन्” भनी मानवशास्त्री डा. डम्बर चेम्जोङ्ले भर्खरै नागरिक दैनिकमा भने । श्रमिक, डेरावाल र पहाड र शहर दुवैतिर घर भएका मानिसहरू यस खाले विपत्तिमा गाउँको घर जाने गर्दछन् ।
नेपाल भित्रको शहरहरूबाट गाउँ
हाम्रो देशमा भएका शहरहरू के वास्तविक रुपमै शहर हुन् त ? शहरमा हुनुपर्ने आधारभुत पक्षहरू सबै तयार गरिएका छन् ? ती शहरमा बसोबास गर्ने आम आनिसलाई थेग्न (hold) गर्न सक्छ ? आदि पक्षहरूबारे मिहिन रुपमा केलाएर हेर्दा हाम्रो देश नेपालका शहरहरू साँच्चिकैका शहर बनिसकेका छैनन् । उदारणको लागि हेरौं:
काठमाडौँ शहर: काठमाडौँ एक प्राचीन शभ्यता बोकेको शहर थियो । काठमाडौँ शहरले त्यहाँको बासिन्दालाई आरामले थेगिरहेकै थियो । तर, जब स्थानीयभन्दा आप्रवासी ( यहाँ बसाइ सरी काठमाडौँ आउने) को जनघनत्व बढेर गयो । तब काठमाडौँ शहरले शहर बासीलाई थेग्न सक्ने क्षमता (holding capacity) गुमायो ।
नागरिक दैनिकको लेखमै डा. डम्बर चेम्जोङ् थप लेख्नु हुन्छ, “शहरमा सबै आफ्ना जस्तो लाग्छन् तर खास आफ्नो भने कोही हुँदैनन् ।” शहरमा श्रमिक-डेरावालहरू र स्थानीय बीच अन्तरघुलन कम हुने गर्छ । काठमाडौँमा अधिक मात्रामा जनघनत्व बढ्नुको मुख्य कारण केन्द्रीकृत एकात्मक शासन प्रणाली हो । एकात्मक राज्य ब्यबस्थाले अधिक पुंजी काठमाडौँमै मात्र लगायो, प्रबिधि र प्रशासनिक कार्य आदि सबै काठमाडौँमै थुपार्यो; जसको कारण काठमाडौँ शहर शरीर मकिएको बृद्ध मानिस जस्तो बन्न पुग्यो ।
केन्द्रीकृत एकात्मक राज्यसत्ताले निर्माण गरेको अर्को प्राशासनिक शहर छ । उदाहरणको लागि धनकुटा बजार र पान्थरको फेदेन बजार आदि । यी शहर बनाउनलाई निर्माण भएका नै होइनन् । प्रशासनिक कार्य सम्पादन गर्ने, सामान्य किनमेल गर्ने र भेटघाट बैठक आदि गर्ने उद्धेश्यले स्थान निर्माण गरिएका ठाउँ भएकाले त्यहाँ उपलब्ध मानिसहरूलाई थेग्ने कुरै भएन । त्यसैले आपत-विपत्तमा मानिसहरू गाउँ जान विवश हुन्छन् ।
अर्को चाँहि ठुल-ठुला राजमार्गहरू जोडिएर बन्न गएको शहर हुन्छ । उदारणको लागि बुटवल र इटहरी आदि । यी शहरहरू बिना पूर्वाधार ह्वात्तै आकार लिन पुगेका शहर हुन् जहाँ स्वास्थ्य, रोजगारको व्यवस्था र आपत् विपत्त थेग्न सक्ने पूर्वाधार केही हुँदैन । यात्रीहरूलाई खान खुवाउने क्रममा नै घरै घर बन्न जान्छ । अत: राजमार्गीय शहरहरूले पनि श्रमिक वर्ग र उच्च शिक्षा हासिल गर्दै गरेका युवाहरूलाई र गरिखाने जमातलाई थेग्न सक्दैन र गाउँ फर्किनुको विकल्प हुँदैन ।
देशबाट घर फिर्नु
जब आफ्नो स्वदेशमा रोजी-रोटीको उचित ब्यबस्था हुँदैन तब श्रमिकहरू देशमा रोजगार गर्न जाने गर्छन् । देशमा रोजगार गर्नलाई पासपोर्टको आवश्यकता पर्दैन । नेपालको लागि रोजगारी देश भनेको भारत हो । भारत जानलाई राहधानी आवश्यक पर्दैन । त्यसैले, अति गरिब पनि रोजगार गर्न भारत जाने गर्छन् । तर, भारत त्यस्तो देश हो जहाँ गरिबीको संख्या अत्यधिक छ । महा विपत्ति हुँदा भारतले आफ्नो जनासंख्यालाई आफै नै थेग्न सक्दैन । त्यसैले नेपाली श्रमिकहरू भारतको श्रम बजारबाट निस्किनु पर्ने हुन्छ । त्यसैले ज्यानको बाजी नै राखी राखी महाकाली नदिमा पौडीएर नेपाल आउन जोखिम मोल्न बाध्य छन् ।
विदेशबाट स्वदेश फर्कनु
एकाथरी श्रमिकहरू राहधानी बनाई विदेशमा गएर त्यस देशमा श्रम बेचिरहेका हुन्छन् । जुन दिन श्रम बिक्री हुन छोड्छ तब गाउँ फर्किनुको विकल्प नै छैन । COVID-19 को चाँपसंगै विश्वको श्रम बजार खुम्चिँदो अबस्थामा छ । विश्वको श्रम बजारमा नेपाली श्रमिकहरूको माग कटौति भएपछि नेपालको गाउँ फिर्नु नै अन्तिम विकल्प हो । हजारौ संख्यामा श्रमिकहरू स्वदेश नेपाल जानलाई आतुर रहेको अखबारहरूमा समाचार आइरहेको छ ।
निष्कर्ष
यी तमाम समस्याको मुख्य जरो नेपालका कु-शासक र कु-शासन नै हो । यसका लागि नेपालमा सताब्दीयौंदेखि कु-शासन गरिरहेका कु-शासकहरूको गति र मति दुवैमा आमूल परिवर्तन हुनु पर्दछ । या त तिनीहरूलाई फेरिदिन सक्ने विवेक र हिम्मत न्यायप्रेमी नेपाली जनतामा हुनु पर्दछ । नेपालका शासकहरूले एकात्मक सोंचलाइ जरैबाट उखेलेर फाल्नु पर्छ । देशलाई १०+१ संघीय राज्यहरूमा रुपान्तर गरी तल्लो प्रदेश र स्थानीय सरकारहरूलाई अधिकार सम्पन्न गर्ने शाहस गर्नु पर्दछ । पहाड र दूर्गम भेगको गाउँहरूमा बस्ति बस्न लायक बनाउनलाइ सबै राजनीतिक दल लागी पर्नु पर्दछ । राहत र औषधिमा पनि भ्रस्टाचार गर्ने मति सुध्रिनु पर्दछ । नेपालको अति अभेग-विकट गाउँहरूमा पनि गाँस, बास, कपास र गुणस्तरिय शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, संचार र सामाजिक सुरक्षा आदिको उचित ब्यबस्था गरी युवा पुस्तालाई पलायन हुनबाट रोक्न सके COVID-19 जस्तो महामारी रोग विश्वमा फैलिँदा अहिलेको जस्तो उधुम आपत पर्दैन थियो कि !