बैशाख १, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्समा १ जना नेपालीको ज्यान गएको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले यो तथ्यांक सार्वजनिक गरेको हो ।
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ । विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघको शाखा तथा स्थानीय संघसंस्थाद्वारा संकलित सूचनाका आधारमा उक्त तथ्यांक सार्वजनिक गरिएको उनले जानकारी दिए ।
जसमा अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्तुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरेबियामा ४ जनलाई कोरोना पुष्टि भएको छ । यसैगरी, कुवेतमा ५, जापान, मलेसिया, म्यानमार र हङकङमा १–१ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको कोभिड–१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।