खुक्सङ खम्बु राई
ओहो !
हामी मात्रै
कति जानु लाहुर
र बन्नु गधाको बच्चा
कति जानु विदेश
र हुनु अर्काको नोकर
कमसेकम देशमा त
एक माऊ सुँङ्गुर
एक हल गोरु
एक फोक्टा पाखोबारीको
मालिक पो थियौं त
र त्यही पाखोबारी माथि
स्वतन्त्रतापूर्वक उभेका पो थियौ त
ओहो !
कस्ले बनाईरहेछ हामीलाई पराधीन ?
युगौं युग देखि निरन्तर, निरन्तर…..
र बनाइरहेछ गधा, नोकर, बहादुर र कान्छा ?
एक्काइसौं शताब्दीको एकबिहान
यलम्बरको देश यलाखोममा
यलम्बरकै पछिल्लो सन्तान म
कोट्याइरहेकोछु आफ्नै देशको खुनी इतिहास
रामप्रसाद राईको रक्तमुँछेल माटो
मुठ्ठीमा कसेर गरिरहेकोछु प्रतिज्ञा
‘अब गइने छैन
कुनै बहानामा
कुनै नामको लाहुर
कुनै नामको विदेश
बरु आफ्नै देशमा बसेर
अब खोजिने छ कारण
कस्ले हामीलाई गधा बनाईरहेछ ?
कस्ले हामीलाई नोकर बन्न विवस बनाईरहेछ ?