बदी साम्पाङ
हिजो आज केही दिनदेखि,
मेरो दैनिकी बद्लिएकोछ
कति दाइत्वहरू थन्काएर एकातिर
त्रासदी मडारिएको मन थाम्दैछु ।
यहाँ रातहरू अबेरसम्म सुस्ताउँछन्
बिहानीहरू संत्रास बोकेर बिउँझन्छन्।
‘ अप्डेट ‘ हुनुछ आफूलाई पनि…
अनि थपिएका लासहरूको तथ्याङ्क टिप्छु,
नयाँ संक्रमितको आङ्कडा उठाउँछु… हरेक बिहान!
मान्छे हुनुको गुण;
अलिकति स्वार्थी भइदिन्छ मन…
लाखौँ संक्रमितको भिडमा,
आफन्तहरूको अनुहार खोतल्छु पर परऽऽसम्म,
धेरै बेरसम्म……!
यद्यपि, हजारौँ लासहरूको अनुहारमा
आफ्नै अनुहार प्रतिविम्वित् भइदिन्छ
लाखौँ पिडितहरूको अनुहार
आफ्नै जस्तो लाग्छ,
हो… आफ्नै जस्तो लाग्दोरहेछ, यस्तो बेला!
यसर्थ,
यो ‘ लकडाउन ‘ को दायरामा कैद भएर
म पनि घरिघरि मर्दैछु, प्रिय!
म पनि तिमीजति नै दु:खेकोछु
तिमीजति नै रोएकोछु , प्रिय !!
मृत्युसंग लडिरहेकी आफ्नी आमालाई
छेउमा बसेर सुम्सुम्याउन नपाएको पीडा,
तिमी भोग्दैछौ!
आफ्नो मुटुभन्दा प्यरो सन्तानको लास
गर्लम्म अंगालेर रुन नपाएको विवशता,
तिमी बाँच्दैछौ!
म त्यहीँ कतै दुरी कायमगरेर उभिएकोछु,मुक दर्शक !
यो कालो इतिहासको साक्षी बनेर!!
लाग्छ, यो अघोषित् युद्ध हो,
विश्वलाई नै कुरुक्षेत्र बनाउन सफल
यो एउटा महायुद्ध हो
अनि त यहाँ मैहूँ भन्नेहरू धेरै पराजित भएकाछन्
‘मिसायल्स’ भण्डारण गरेर विश्वथर्काउनेहरूको शिर निहुरिएकोछ ।
तथापि, युद्ध जारीछ,
फेरि पनि युद्ध हाम्रै सन्तानहरूले लडिरहेकाछन्
हरेक घरहरू बॅकर बनेकाछन् , ज्यान जोगाउने,
अनि आदेश छ बँकर नछाडने…..
तर केही योद्धाहरू युद्धमैदानमै होमिएकाछन्
आफु मरेर अरु बचाउने अभियानमा
थुप्रै मैनबत्तिहरू निभ्दैछन्,
थुप्रै ताराहरू अस्ताउँदैछन्
त्यसैले आज मनभरि असिम श्रद्धा पलाएकोछ
उनीहरूकोनिम्ति…. साँच्चै भन्छु,
आज बेस्सरी सलाम गर्नमनछ ती योद्धाहरूलाई
सलाम! सलाम!! सलाम!!!
तिम्रै कारण भोलि संसारमा फेरि ‘आशा’ हरू पलाउनेछन्!
तिम्रै कारण भोलि जगतमा फेरि ‘प्रेम’ बाँच्नेछ!!
सलाम वीर योद्धाहरू…….!!!