१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउने समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका महासचिव नेत्र चापागाईं, रेशक सापकोटा लगायतका ४ विद्यार्थी नेतालाई पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।
प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्री पनि जोडिएको, यति होल्डिङ्सलाई सर्वाजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको, काण्डै काण्ड घटाएर देश लुटिरहेको लगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।
सोमबार बिहान नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग छलफल सकेर प्रधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका हुन् ।
समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘आज प्रधानमन्त्री केपि ओली पोखरा जाँदैगर्दा त्यहाँ भ्रष्टाचारीलाई संरक्षण होइन कारबाही गर भन्दै बिरोध प्रदर्शन गर्ने समाजवादी विद्यार्थी युनियनको उपाध्यक्ष नेत्र चापागाईं सहित ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ,’ अध्यक्ष श्रेष्ठले भनेका छन्, ‘गिरफ्तार गरिएका विद्यार्थी नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, बिशाल तिमिल्सिना र प्रवास भट्टराईलाई तुरुन्तै रिहा गर ।’
समाजवादी बिद्यार्थी युनियनका केन्द्रिय सचिव राम चन्द्र राई भनेका छन , गिरफ्तार गरिएका बिद्यार्थी नेताहरुलाई बिना सर्त तुरुन्त रिहा गर ।